शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुत्र ब्यवस्थापन प्रणाली बन्द हुँदा सिन्धुलीमा भुक्तानी समस्या

बुधवार , आषाढ २७, २०८०

सिन्धुली– आर्थिक वर्ष २०७९/८० को योजना तथा कार्यक्रमहरुको भुक्तानी असार २४ गते भित्र गर्न महालेखा नियन्त्रक कार्यालयले सबै सरकारी निकायलाई निर्देशन गरेको थियो ।

उक्त निर्देशन बमोजिम सरकारी कार्यालयहरुले भुक्तानीको काम २४ असारको राति १२ बजेसम्म सक्नुपर्ने थियो तर स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली बन्द हुँदा कतिपय स्थानीय तहहरुको भुक्तानी रोकिन पुगेको बताइएको छ । करोडौं रकम भुक्तानी रोकिदा बिभिन्न् योजनाका उपभोक्ताहरु मारमा परेका छन ।

सिन्धुलीको कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका लगायतका गाउँपालिकाहरुले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेर सुत्र ब्यवस्थापन प्रणालीमा समस्या देखिएकोले भुक्तानी हुन नसकेको कारण समस्या उत्पनन् भएको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका छन ।

कमलामाई नगरपालिका कार्यालयले महालेखा नियन्त्रकको कार्यालयलाई लेखिएको पत्रमा भनिएको छ, “आर्थिक वर्षको अन्तिममा सुत्र प्रणालीमा आएको अवरोधका बीच विभिन्न् खर्च भौचरहरु स्वीकृत भई भुक्तानी सम्पनन् भएता पनि यस पालिकाको केहि भौचरहरुको खर्च स्वीकृत भएको तर रकम ट्रान्सफर प्रणाली हुन नसक्दा भुक्तानी सफल नभएकोले आर्थिक कारोबारको चेक प्रिन्ट र विद्युतीय भुक्तानी हुने ब्यवस्थाको लागी सहजीकरण गरिदिनुहुन अनुरोध गरिन्छ ।”

आर्थिक वर्षको अन्तिम दिन सुत्र ब्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण भुक्तानीमा समस्या भएको र महालेखा नियन्त्रकको कार्यालयलाई सहजीकरणका लागी पत्र लेखिएको कमलामाई नगरपालिकाका लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले बताउनुभयो । कमलामाई नगरपालिकाको ४ लाख जति रकम भुक्तानी हुन बाँकी रहेको पनि कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गोलन्जोर गाउँपालिका कार्यालयको उपभोक्ताहरुको साथै कार्यालय सञ्चालन समेतको झण्डै ३ करोड रकम भुक्तानी हुन नसकेकोको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“भुक्तानी समयमै सक्नका लागी शनिबार समेत कार्यालय खुल्ला गरेर निकाशाको काम गरियो तर आईतबार ११ बजेबाटै सुत्र प्रणालीमा सममस्या आयो । भुक्तानी हुन सकेन ।” भुक्तानी बन्द हुँदा उपभोक्ताहरु मारमा परेको पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिका कार्यालयको पनि ३ करोड भन्दा बढी रकम भुक्तानी हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बिभिन्न् योजना तथा कार्यक्रमको ३ करोड बढी रकम भुक्तानी हुनबाट रोकिएको छ, आवश्यक सहयोगको लागी महालेखा नियन्त्रक र अर्थ मन्त्रालयमा पत्र लेखिएको छ ।”

त्यस्तै घ्याङलेख गाउँपालिकाको बिभिन्न् योजनाको ३५ लाख रकम भुक्तानी गर्न बाँकी रहेको आर्थिक प्रशासन शाखाका पदम बहादुर सुनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुत्र प्रणालीमा आएको समस्याका कारण उपभोक्ताहरुलाई भुक्तानी दिनुपर्ने रकम रोकिएको छ ।’ कार्य सम्पन्न् भएकै योजनाहरुको भुक्तानी रोकिदा समस्या भएको सुनुवारको भनाई छ ।

आर्थिक बर्ष २०७९/८० को अन्तिममा सिन्धुलीका स्थानीय तहमा कार्यरत कर्मचारीले राति अबेर सम्म कार्यालयमै बसेर काम गरेका थिए । त्यति हुँदा हुँदै पनि भुक्तानीमा समस्या भएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारले सम्बन्धित आर्थिक वर्षमा गरेको खर्च आर्थिक वर्ष सकिनुभन्दा कम्तीमा एक साता पहिले भुक्तानी गर्नुपर्ने ब्यवस्था गरेको छ ।

प्रतिक्रिया