शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका स्थानीय तहमा कमजोर हुँदै वित्तीय सुशासन

सोमवार , आषाढ २५, २०८०

सिन्धुली – स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन तथा स्थानीय तह संस्थागत क्षमता मुल्यांकनमा सिन्धुलीका स्थानीय तहहरु कमजोर रहेको मुल्यांकन प्रतिवेदनले देखाएको छ ।

स्थानीय तहहरुमा बेरुजु रकमको हिस्सा बढ्दै छ । योजनाको सान्दर्भिकता, प्राथमिकता निरुपण, खर्चको गुणस्तर, सेवा व्यवस्थापनमा नागरिक भावनाको सम्बोधन, निर्णयको पारदर्शिता, वित्तीय कारोबारमा नागरिक संलग्नता जस्ता आधारबाट वित्तीय अनुशासन र जवाफदेहिताको समग्र मूल्यांकन गरिएको छ ।

सिन्धुलीका स्थानीय तहहरु वित्तीय अनुशासन कायम गर्न कमजोर देखिएका छन् । स्थानीय सरकारहरूले घटी जिम्मेवारी सारेको, बैंक हिसाब मिलान गर्न नसकेको, बजेटलाई अबन्डामा राख्ने गरेको, अन्तरपरिषद् समन्वय नगरेको, उपभोक्ता समितिबाट सम्पादन गरिएका काममा ठेकेदारलाई उपयोग गरिएको र वित्तीय कारोबारसम्बन्धी निर्णय गर्दा अवलम्बन गर्नुपर्ने विधि नअपनाएको देखिएको छ ।

वित्तिय सुशासन जोखिम मुल्यांकन तर्फ सबैभन्दा बढी अंक ७५.५ प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो भएको छ भने सबैभन्दा कम सुनकोशी गाउँपालिकाले ४२.५ अंक प्राप्त गरेको छ । त्यस्तै संस्थागत क्षमता मुल्यांकन तर्फ पनि ७८.५ अंक प्राप्त गर्दै दुधौली पहिलो भएको छ भने ४४.७५ अंक प्राप्त गर्दै सुनकोशी गाउँपालिका अन्तिम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला समन्यव समिति सिन्धुलीले गरेको मुल्यांकनको प्रारम्भीक नतिजा अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सदरमुकाम क्षेत्रकै पुरानो कमलामाई नगरपालिकाले ६० दशमलव ०५ प्रतिशत अंक मात्र प्राप्त गरेको छ ।

कमलामाई नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १३, कार्यान्वयन क्षमता तथा व्यवस्थापन १७.५ लेखांकन तथा प्रतिवेदनमा १३, अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा ७.५ र राजस्व व्यवस्थापनमा ९.५ अंक प्राप्त गरेको प्रारम्भीक नतिजामा उल्लेख छ ।

बागमती प्रदेश सरकारले तयार पारेको स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन कार्यविधी–२०७७ बमोजिम जिल्ला समन्यव समिति सिन्धुलीले मुल्यांकन गरी नतिजा प्रकाशन गरेको हो ।

जिल्ला समन्यव समिति सिन्धुलीको मूल्यांकन प्रतिवेदन अनुसार जिल्लाको सुनकोशी गाउँपालिका ४२.५ अंक, गोलन्जोर गाउँपालिकाले ५३ अंक, फिक्कल गाउँपालिकाले ५५ अंक, तिनपाटन गाउँपालिकाले ४९ अंक, दुधौली नगरपालिकाले ७५.५ अंक, मरिण गाउँपालिकाले ६८ अंक, हरिहरपुरगढी गाउँपालिकाले ६३.५ अङ्क, घ्याङलेख गाउँपालिकाले ६५.५ अंक, प्राप्त गरेका छन् ।

त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन तर्फ दुधौली नगरपालिकाले ७८.२५ अंक, घ्याङलेख गाउँपालिकाले ७८ अंक, गोलन्जोर गाउँपालिकाले ५२.७५ अंक, हरिहरपुरगढी गाउँपालिकाले ५८.७५ अंक, कमलामाई नगरपालिकाले ५८.७५ अंक, मरिण गाउँपालिकाले ६६.५ अंक, फिक्कल गाउँपालिकाले ५३.७५ अंक र तिनपाटन गाउँपालिको ४७ अंक प्राप्त गरेका छन ।

अब सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी स्थानीय तहहरुको अन्तिम नतिजा प्रकाशन हुने जिल्ला समन्यव समिति सिन्धुलीका सूचना अधिकारी कुलध्बज बम्जनले जानकारी दिनुभयो ।

स्थानीय तहको वित्तीय प्रणाली ब्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष स्थानीय तहहरुको मुल्यांकन गर्ने गरिएको छ । भने स्थानीय तहहरुको संस्थागत क्षमता अभिबृद्धि गर्दै सेवा प्रवाहमा प्रभावकारीता कायम गर्न संस्थागत क्षमताको स्वमुल्यांकन गर्ने गरिएको छ ।

स्थानीय तहहरुको आर्थिक अवस्था विधिसम्मत र प्रभावकारी बनाउन सरकारले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ लागु गरेको हो ।

कार्यविधिको आधारमा सरकारले पालिकाहरुलाई अनुदान थपघट गर्न सक्ने ब्यवस्था रहेको छ । मन्त्रालयले मूल्याङ्कन नतिजालाई अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालयले पालिकामा योजना संचालन गर्दा आधारको रुपमा लिने छन ।

प्रतिक्रिया