शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कृषि पशु बिमा सेवा बन्द हुँदा किसानहरु मारमा

आइतवार , आषाढ २४, २०८०

सिन्धुली – सरकारले बिमा कम्पनीहरुलाई दिनुपर्ने अनुदान रकम नदिएको भन्दै निर्जीवन बिमा कम्पनीहरूले कृषि तथा पशु बिमा सेवा बन्द गर्दा जिल्लाका कृषकहरु मारमा परेका छन । कृषि तथा पशु बिमा सेवा बन्द हुँदा किसानहरू बिमा गर्न र दाबी भुक्तानी पाउनबाट वञ्चित भएका छन् ।

पछिल्लो समय लम्की स्कीन रोगका कारण पशु चौपायाहरु भकाभक मृत्यू हुँदै गएका कारण जिल्लाका किसानहरु समस्यामा पर्दै गईरहेका छन । महामारीकै समयमा बिमा कार्यक्रम स्थगित हुँदा किसानहरु मारमा परिरहेको फिक्कल गाउँपालिका–२ का कृषक बिष्णु प्रसाद बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “पशु चौपायाहरुमा विभिन्न् खालका रोगहरु आईरहेका छन, यहि समयमा बिमा कार्यक्रम स्थगित भएको छ । यस्ले कृषकहरुलाई कृषि पेशा प्रति निरुत्साहित बनाउँदै लगेको छ ।” नयाँ बिमा स्थगित हुनुका साथै पुरानो बिमाको समेत क्षतिपूर्ति रकम नपाउँदा कृषकहरु समस्यामा परेको बरालले बताउनुभयो ।

सरकारले कृषि तथा पशुमा बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको गोल्जोर गाउँपालिका–३ का पैलेटी एग्रो फार्मका सञ्चालक गौरब कार्कीले बताउनुभयो । “जतिबेला किसानलाई समस्या आउँछ त्यतिबेलै बिमा कार्यक्रम बन्द हुन्छ, अनि किन बिमा खोजिरहनु ?” बिमा कार्यक्रम स्थगन हुँदा कृषकहरु कृषि ब्यवसाय प्रति नै निरुत्साहित बन्दै गएको कार्कीले बताउनुभयो ।

बिमा गरेका पशुधनको बिमा रकम लिन समेत झन्झट ब्यहोर्नु पर्ने बाध्यता रहेको कार्कीको अनुभव छ । उहाँको अनुभवमा सामान्य किसानले त डकुमेन्ट मिलाउनै नसक्ने अवस्था छ । “बीमा कम्पनीले मिलाउने कागजात पनि किसानलाई नै मिलाउन लगाउँछन् । बैंकले पनि समस्यामा सपोर्ट गर्दैन र बीमाबाट हामीले सहयोग पाएका छैनौं,” उहाँको भनाई छ ।

कमलामाई नगरपालिका–११ का पोल्ट्री व्यवसायी दिपेन्द्र भुजेलको पनि त्यस्तै अनुभव छ । “मेरो फर्ममा ५ हजार कुखुरा छ । मैले बीमाचाहिँ गरेको छु । बीमा गर्न सहज तरिकाले एजेन्ट र कम्पनी आउँछ तर त्यो अनुसारको दाबीभुक्तानी भने सहज तरिकाले नपाएको अवस्था छ । किसान ठगिएको महसुस हामीले गरेका छौं,” उहाँ भन्नुहुन्छ । बिमा कम्पनीले दिने झन्झट र भुक्तानी प्रक्रिया लामो हुँदा किसानहरु बीमामा आकर्षित हुनुको सट्टा परपर हुँदै गएको देखिन्छ ।

जिल्लामा बास्तविक किसानहरुले बीमा के हो भन्ने विषय थाहा पाएको अवस्था छैन । ठुलो फर्म तथा बैंकमार्फत कारोबार गर्नेलाई बीमा अनिवार्य गरेको कारण तेस्ता फर्महरुले बिमा गरेका छन तर आफ्नै घरमा गाईभैंसी तथा बाख्रा पाल्ने साना किसानको पहुँचमा बीमा पुग्न सकेको अवस्था भने छैन ।

२०६९ सालदेखि सुरू भएको कृषि बिमामा सरकारले बालि तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका–२०७० तयार गरी बिमा शुल्कमा अनुदान उपलब्ध गराउदै आएको थियो । सरकारमार्फत शुरुवाती चरणमा ७५ प्रतिशत र पछिल्लो करिब १ वर्षदेखि भने ८० प्रतिशत अनुदानमा कृषि तथा पशु बिमा जारी हुँदै आएको थियो ।

सिन्धुली जिल्लामा प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडले पशु तथा बालिमा बिमाको काम गर्दै आईरहेको थियो । निर्जीबन बिमा कम्पनीले जिबजन्तु तर्फ गाईभैसी, भेडा बाख्रा, सुगुर, घरपालुवा जनावर, कुखुरा, माछा लगायतको बिमा गर्दै आईरहेको थियो भने बनस्पती तर्फ अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफुल, जडिबुटी लगायतको बिमा गर्दै आईरहेको थियो ।

प्रतिक्रिया