शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका अधिकांश बैंकको एटिएमको समस्या

शनिवार , आषाढ २३, २०८०

सिन्धुली– सिन्धुलीमा बैंकिङ सेवा विस्तारसँगै अटोमेटेड टेलर मेसिन ‘एटिएम’ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । यो सुविधाले एटिएमबाट सजिलै पैसा झिक्न सकिन्छ । कहिलेकाहीँ भने एटिएमबाट पैसा झिक्ने क्रममा खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्ता घटना अधिकांश सिन्धुलीका बैंकका ग्राहकले भोगिरहेका छन् ।

एटीएम मेसिनमा कार्ड घुसाएर नगद माग गरेपछि कहिलेकाँही नगद रकम भुक्तानी भएको स्लिप मेसिनबाट आउने तर नगद नआउने समस्या रहेको कमलामाई नगरपालिका ४ का दिपक पोखरेलले बताउनुभयो । पैसा नै नझर्ने तर बैंकको खाताबाट पैसा घटेपछि ग्राहक बैंक धाउने, सीसीटीभी हेर्ने लगायतका झन्झटमा परिरहेको पोखरेल बताउनुहुन्छ । कतिपय बैंकले त ‘हाम्रो सिस्टममा एटीएमबाट पैसा भुक्तानी भएको देखिएको छ’ भन्दै महिनौँसम्म ग्राहकको खातामा पैसा नहाल्दिने गरेका घटना पनि आइरहेको उहाँ बताउनुहुन्छ ।

सिन्धुलीका अधिकांश एटिएमबाट ग्राहकले सेवा पाउने भन्दापनि समस्या भोगिरहनुपरेको बताउनुहुन्छ दुधौली नगरपालिका ४ का रवि अधिकारी । केही बैंकका एटिएम बाहेक धेरै जसो बैंकका एटिएमले समयमा पैसा नदिने र ग्राहकलाई दुःख र हैरानी मात्रै दिने गरेको उहाँले बताउनुभयो । एटिएमबाट पैसा नआएपछि धेरै जसो ग्राहकले त्यत्तिकै छाडेर हिड्ने गर्दा खाताबाट पैसा हराईरहेको हुन्छ । धेरैले यस्तो विषयमा चाल समेत नपाएका हुन्छन् । फेरी उजुरी नै गर्न गए पनि लामो समयपछि जाने र पैसा फिर्ता नपाउने जस्ता समस्या पर्ने गरेको छ । नेपालमा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढीरहेको छ । ग्रामीण क्षेत्रमा समेत बैंक संचालन भएपनि सेवा दिन बैंकले कञ्जुस्याईँ गरेको सेवाग्राहीहरु बताउँछन् ।

एटिएम बिग्रदा सेवाग्राहीलाई सास्ती

सिन्धुलीको सदरमुकाममा दर्जनौँ बैंक संचालनमा छ । तर, ती बैंकले सेवाग्राहीलाई सेवा दिन कञ्जुस्याईँ गरेको सेवाग्राहीको दुखेसो छ । सदरमुकाममा मानिसको चहलपहल बढ्दो भएपनि बैंकले सेवाग्राहीको मर्म नबुझेको उनीहरु बताउँछन् । एटिएम बिग्रेको हप्तौँ हुँदा पनि मर्मत नगर्ने, एटिएममा पैसा नहाल्ने लगायत सेवाग्राहीलाई खेप्नुपरेको समस्यामा जिल्लाका बैंकले बेवास्था गरेको कमलामाई नगरपालिका ५ कि ग्रेसा खड्का बताउनुहुन्छ । उहाँले आक्रोशित हुदैँ भन्नुभयो, ‘कहिले पैसा काट्छ, एटिएमबाट नगर झर्दैन । कहिले भने एटिएमनै चल्दैन । दुई तीनवटा बैंक धाएपछि बल्ल पैसा झिके ।’

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ । एउटा बैंकको कार्ड सोही बैंककै एटिएम बुथमा प्रयोग गर्दा कुनै शुल्क नलागे पनि त्यही बैंकको कार्ड अर्को सदस्य बैंकको एटिएम बुथमा प्रयोग गर्दा हरेक कारोबारमा २० रुपैयाँ र मौज्दात विवरणमा पाँच रुपैयाँ लिने गरेका छन् ।

एउटा बैंकको कार्ड सदस्य बुथबाहेक अन्यमा प्रयोग गर्दा हरेक कारोबारमा एक सय ५० रुपैयाँ र मौज्दात विवरणमा ५० रुपैयाँ लाग्ने गरेको छ । नेपालको कुनै एउटा बैंकको कार्ड भारतका बुथमा प्रयोग गर्दा हरेक कारोबारमा दुई सय रुपैयाँ सटही शुल्क (०.१५ प्रतिशत कारोबार गरिएको रकमको) र मौज्दात विवरण गर्दा ५० रुपैयाँ लाग्ने गरेको छ ।

एकातिर एटिएम प्रयोग गरेबापत लिइने सेवा शुल्क बढ्दै गएको छ भने अर्कोतिर एटिएम असुरक्षित हुँदै गएका छन् । ग्राहकले सुरक्षाका सामान्य मापदण्ड पालना नगरेका कारण पनि एटिएम कार्डको प्रयोग पछिल्लो समय असुरक्षित हुन पुगेको छ । एटिएम मेसिनमा अरु कसैले हेरिरहेको छ, छैन सुनश्चित गरेर मात्र पिन नम्बर थिच्ने गरे मात्र पनि एटिएमको कार्डको दुरुपयोगमा कमी आउने एक बैंकरको भनाइ छ । पिन नम्बर मोबाइलमा सेभ गर्ने वा अन्यत्र कतै लेखेर राख्ने गरेकाले पनि एटिएम कार्डबाट अर्को व्यक्तिले रकम निकाल्ने गरेको पाइन्छ ।

समयसमयमा पिन नम्बर परिवर्तन गरियो भनेपनि एटिएम कार्ड दुरुपयोग हुनबाट जोगिने बैंकर बताउँछन् । दोश्रो व्यक्तिलाई पिन नम्बर भन्ने गरेका कारण पनि समस्या आउने गरेको छ ।

आफूले गरेको हरेक कारोबार खाता विवरण र स्टेटमेन्ट समयसमयमा चेकजाँच गर्दा पनि रकम सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकिन्छ । ‘पिन नम्बर र एटिएम कार्डसँगै राखेका कारण पनि समस्या पर्छ,’ एक बैंकरले भने, ‘कार्ड हराएर मात्र फरक पर्दैन । तर, पिन नम्बर पनि सँगै राख्दा रकम निकाल्न सजिलो हुन्छ ।’

एटिएम काउन्टरभित्र अर्को कुनै व्यक्ति भएमा कारोबार गर्न नहुने बैंकर बताउँछन् । कारोबार गर्नुअघि कसैले हेरिरहेको छ कि छैन, एकपटक सुनिश्चित गरेर मात्र कारोबार गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

८० को दशकमा बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक एटिएम कार्ड प्रयोगमा ल्याइएको थियो । करिब तीन दशकको यो अवधिमा एटिएम प्रयोगकर्ता ह्वातै बढेका छन् । कार्डको प्रयोगबाट नगद बोक्ने झन्झट अन्त्य भएको छ ।

देशको कुल जनसंख्याको १५ प्रतिशतभन्दा बढीले एटिएम कार्ड प्रयोग गरिरहेको बताइन्छ । एटिएम कार्ड नगद झिक्न वा प.ओ.एस (पोइन्ट अफ सेल) मेसिनबाट बिना नगद सिधै वस्तु वा सेवा खरिद गर्नमा प्रयोग गरिन्छ । तर, एटिएम नगद भन्दा वस्तु खरिद गर्न कम प्रयोग गर्ने गरेको बैंकरहरु बताउँछन् । एटिएम प्रयोगमा बैंकिङ समयको सीमा नभए पनि २४ घन्टा सेवा उपलब्ध गराउने मेसिनको सुविधा भने सर्वसुलभ हुन सकेको छैन ।

 

 

प्रतिक्रिया