शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लघुवित्तको ज्यादती,कर्मचारीले टेलिभिजननै उठाएर लगे

बिहिवार , आषाढ २१, २०८०

सिन्धुली– लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै लघुवित्त पिडितहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएका छन् । एकै ब्यक्तिलाई तीन/चारवटा लघुवित्तले ऋण लगानी गर्ने, लगानीको सुरुका चरणमा जवरजस्ती पैसा दिने, महँगो ब्याज असुल्ने गरेकाले न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।

“सावा भन्दा धेरै ब्याज तिर्दापनि तिर्न बाँकी छ भन्छन” लघुवित्त वित्तिय संस्था विरुद्धको आन्दोलनमा न्यायको माग गर्दै सिन्धुलीमाढी आईपुग्नु भएकी दुधौली नगरपालिका–६ की सिता कुमरले भन्नुभयो । “ऋण मिनाहा गरेर लघुवित्त खारेज भएन भने हामी थप संघर्ष गर्छौँ, पैसा तिर्ने कुनै उपाए छैन ।” लामो समयदेखि लघुवित्तको सदस्य रहेको बताउँदै जवरजस्ती लगानी गराउने र एक दिन किस्ता ढिला भयो भने मानसिक तनाव दिने गरेको उहाँले गुनासो गर्नुभयो ।

दुधौली नगरपालिका–१ हत्पते की सुकुमायाँ विकले फर्वाड लघुवित्त, नयाँ सारथी, लक्ष्मी लधुवित्त र सवैका लागी लघुवित्तबाट ऋण लिएको बताउँदै अहिले तेब्बर रकम बुझाउँदा समेत सुख नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले एक दिन किस्ता तिर्न ढिलो हुँदा जवरजस्ती तिर्नुपर्छ भने मैले सकिन” उहाँले भन्नुभयो, “एकदुई दिनपनि समय नदिने, सँधै ब्यवहार सहज कहाँ हुन्छ ?”, त्यसैले आफु न्यायको खोजिमा रहेको उहाँले बताउनुभयो । उक्त पैसा घर बनाउन झिकेको बताउँदै उहाँले एकतिर ऋण लिने अर्कोतिर तिर्ने गर्दै यसअघि मिलाएको बताउनुभयो ।

र्‍यालिमा सहभागि हुनुभएकी भुक्नी कुमारी कुमरले फर्वाड लघुवित्तले आफ्नो घरको टिभि उठाएर लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “फर्वाड लघुवित्तबाट जम्मा मैले ५० हजार ऋण खाएको थिए, किस्ता तिर्दै जाँदा जम्मा १५ हजार रकम तिर्न बाँकी थियो, कर्मचारी आएर घरको टिभी नै उठाएर लग्यो ।, ज्याला मजदुरी गरेर खाने मान्छे हामी, ऋण धेरै तिर्न सकिएन” कुमरले भन्नुभयो “घर आउने, बेइज्जत गर्ने गर्दा चित्त दुखेको छ ।”

ऋण भएपनि लघुवित्त पिडितहरु बाँच्न पाउने अधिकार रहेको दुधौली नगरपालिका–१ की अनिशा विकले बताउनुभयो । “हामीले ऋण लिएको हो, तिर्न सकेका छैनौँ, तिर्न सक्ने अवस्थापनि छैन, हामी यो देशको नागरिक हैन, हामीलाई बाँच्ने अधिकारी छैन” उहाँले भन्नुभयो “हाम्रो सामाजिक बेइज्जत भएको छ, मानसिक तनाब भएको छ, यो अवस्था रहने हो भने लघुवित्तसँग कुनैदिन झडपको अवस्था सिर्जना हुनसक्छ ।”

समुहमा आबद्ध भएर ऋण खानेहरुलाई ऋण दिएपनि सिप र योजना लघुवित्तले दिन नसकेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ सिन्धुलीकी सह संयोजक अनिसा विकले बताउनुभयो । उक्त महाअभियान त्यहि अभियान हो जुन चर्चित व्यवसायी दुर्गा प्रसाईंले गठन र पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्नुभएको थियो ।

सिन्धुलीको विभिन्न ठाउँबाट लघुवित्तका कारण पिडित भएको भन्दै महिलाहरुको उपस्थितीमा ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले लघुवित्तबाट झेल्नुपरेको पिडाका बारेमा पालैपालो गुनासो गरेका थिए । लघुवित्त र ऋण खारेजी नहुँदा सम्म आफुहरुको संघर्ष जारी रहने विकले बताउनुभयो । जिल्लाको ग्रामीण क्षेत्रमा जिवन विकास, फर्वाड, नयाँ सारथी, स्वावलम्बन, लक्ष्मी, गणपति लगायत दर्जनौं लघुबित्त संस्थाहरुले ऋण लगानी गरेका छन् ।

मंगलबार पनि लघुवित्त वित्तिय संस्थाले ज्यादती गरेको भन्दै महिलाहरुले सिन्धुली सदरमुकाममा प्रर्दशन गरेका थिए । लघुवित्त पीडितहरु ऋण खारेजीको माग सहित आन्दोलनमा छन् भने लघुवित्तहरु आफ्ना कारण नभई ग्राहक आफ्नै कारण समस्यामा परेको बताउँदै आएका छन् ।

प्रतिक्रिया