शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सामाजिक सुरक्षा भत्ता लिन हैरान ब्यहोर्दे सिन्धुलीका बृद्धबृद्धा

आइतवार , आषाढ १०, २०८०

सिन्धुली– सामाजिक सुरक्षा भत्ता लिएर घर फर्कर्दै गर्दा केहि साता अघि तिनपाटन गाउँपालिका–१२ बाहुनतिल्पुङ काउलेका गणपति सार्कीको बाटोमै मृत्यू भयो । उहाँ चकमके बजारमा रहेको वैंक अफ काठमाडौँबाट बृद्धभत्ता लिएर घर फर्किरहनु भएको थियो । बृद्धभत्ता लिन चकमके जान आउन उहाँलाई दुई दिन लागेको थियो ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमा लगेपछि जिल्लाको ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपरका वृद्धवृद्धाहरु समेत हैरान ब्यर्होर्न बाध्य हुने गरेका छन ।

कर्मचारी मार्फत रकम बृद्धवृद्धाको हातहातमा दिदा दुरुपयोग बढेको र अपारदर्शी भएको भन्दै वैंक मार्फत रकम दिने ब्यवस्थाको सुरुवात गरेपनि लाभग्राहीहरुका लागी भने सहज बन्न सकेको अवस्था छैन । वैंक मार्फत सरकारले चौमासिक रुपमा रकम भुत्तानी गर्दै आईरहेको छ ।

फिक्कल गाउँपालिका–२ की सितामायाँ सार्कीले भत्ता लिन हैरान ब्यहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “बृद्धभत्ता लिन खाङसाङ पुग्नु पर्छ, हिडेर जाँदा एक दिन लाग्छ, भनेको बेलामा गाडि सुविधा पाईदैन ।” सरकारले बुढावुढीका लागी दिएको रकम लिन आफुहरुले हैरान ब्यहोर्नु परेको सार्कीले गुनासो गर्नुभयो । सितामायाँ सार्की जस्तै फिक्कल गाउँपालिकाका ग्रामीण क्षेत्रका बृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिडेर गाउँपालिका सदरमुकाम खाङसाङ पुग्नु पर्ने बाध्यतामा छन ।

ग्रामीण क्षेत्रका बृद्धबृद्धाहरुले मात्र हैन सरमुकाममै रहेका बृद्धबृद्धाहरुले पनि आफ्नो भत्ता लिन हैरान ब्यहोर्न बाध्य छन । कमलामाई नगरपालिका–६ का एक नारायण श्रेष्ठले बैंकबाट भक्ता लिन घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बैंकमा घण्टौं लाईन बस्नुपर्छ पहिले पहिले वडामा जाँदा भत्ता पाईन्थ्यो अहिले वैंकमा घण्टौं लाईन बस्नुपर्छ ।” बैकिङ प्रणाली झन्झटिलो भएको श्रेष्ठले गुनासो गर्नुभयो ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्ने सरकारी निती सदरमुकाम क्षेत्रमा प्रभावकारी भएपनी ग्रामीण क्षेत्रमा प्रभावकारी हुन नसकेको फिक्कल गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष टेक बहादुर रजन मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “ सामाजिक सुरक्षा भत्ता बैंकबाट दिनु पारदर्शिताका हिसाबले सकारात्मक छ तर बैंक तथा वित्तिय संस्थाहरु ग्रामीण क्षेत्रमा कम छन त्यसकारण बृद्धबृद्धाहरु हैरान ब्यहोर्न बाध्य हुनुपरेको छ ।”

केहि स्थानीय तहले वैंकसँगको सहकार्यमा सामाजिम सुरक्षा भक्ता वडा वडामै गएर वितरण गर्ने गरेको भएपनि बैंक तथा वित्तिय संस्थाको प्राविधिक तथा कर्मचारी समस्याका कारण दिगो हुन सकिरहेको अवस्था छैन । भत्ता लिन वैंकमै जानुपर्दा फिक्कल, गोलन्जोर, तिनपाटन, घ्याङलेख, हरिहरपुरगढी, मरिण लगायतका गाउँपालिकाका बृद्धबृद्धाहरु झन्झट ब्यहोर्न बाध्य हुने गरेका छन ।

सामाजिक सुरक्षा भत्ता बैंककिङ प्रणालीमा लगेर पारदर्शिता कायम गर्ने सरकारको निती सकारात्मक भएपनि लाभग्राहीहरु झन्झटमा परिरहेका छन । शहरी क्षेत्रमा प्रभावकारी भएपनि ग्रामीण क्षेत्रमा वैंक तथा वित्तिय संस्थाहरु नजिक नहुँदा लाभग्राहीहरु समस्यामा पर्ने गरेका हुन ।

बैंकिङ प्रणाली र प्रविधी नयाँ पुस्ताको लागी अनिवार्य र प्रभावकारी भएपनि पुरानो पुस्ताको लागी झन्झटिलो हुने गरेको छ जस्का कारण पुरानो पुस्ता जिवनको उत्तराद्धमा विभिन्न् खाले समस्यामा अल्झीन बाध्य हुनुपरिररहेको छ । शुशासन र पारदर्शितालाई ध्यान दिर्दै पुस्ता मैत्री प्रविधि अपनाउन जरुरी रहेको छ ।

प्रतिक्रिया