शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशीमा जलयात्रा सयर

सोमवार , जेठ २२, २०८०

सिन्धुली–सिन्धुलीको सुनकोसी नदीमा अहिले जलयात्रा गरेर आनन्द लिनेको घुइचो लाग्ने गरेको छ । गर्मी यामको फागुन,चैत्र,वैशाख र जेठ महिनालाइ जलयात्रा (र्‍याफ्टिङ)को मौसम मानिन्छ ।

राजधानी काठमाडौंलाई तराईका जिल्लासंगजोड्ने छोटो दुरीको बीपी राजमार्ग संचालनसंगै सिन्धुलीको सुनकोशी गाउँपालिकाको मुलकोट जलयात्राका लागि हब बन्दै गएको छ । मुलकोटका रहेका होटलले संचालन गरेको सुनकोशी नदीमा जलयात्रा गर्न आउनेको संख्या बढ्दै गएको छ । मुलकोटमा सुविधा सम्पन्न होटलहरुले जलयात्राको व्यवस्था गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ आकर्षित गरिरहेका छन् ।

मुलकोटका होटल व्यवसायीहरु जलयात्रा मार्फत आन्तरिक तथा बाह्य पर्यटक तान्ने अभियानमा जुटेको बताउछन् । मुलकोटको ताज रिसोर्टका प्रबन्धक मनोज श्रेष्ठ बिगत चार बर्षदेखि आफुले जलयात्रा व्यवसाय सुरु गरेको र सिजनमा आफुलाई भ्याई नभ्याई नै हुने गरेको बताउछन् । उहाँले भन्नुभयो, “सिजनमा भ्याई नभ्याई नै हुन्छ । ‘गुड फ्राईडे’ मनाउन काठमाडौ र तराईबाट प्याकेजमा ग्राहकहरु आउछन् । शुक्रबार र शनिबार दुई दिनमा एक हजारदेखि एकजार पाँचसय जनासम्मले सुनकोसी नदीमा जलयात्रा गर्दै आएका छन् ।”

सिजनमामा त जलयात्रा गर्नेहरु धेरै नै बढ्दै गएपनि आफसिजनमा समेत रुचि देखाएर खाली बस्नु नपरेको उहाँले जनाउनु भयो । फागुुनदेखि असारसम्म बर्षादको मौसम सुरु नहुन्जेल जलयात्राको सिजन हो, उहाँले थप्नुभयो, “ ‘अफसिजन’ मा पनि सन्तोषजनकरुपमा नै जलयात्रा चल्ने गरेको छ ।”

मुलकोटका चार जना होटल संचालक मिलेर ताज रिसोर्टको नाममा जलयात्रा व्यवसाय संचालन गर्न पर्यटन बोर्डबाट लाईसेन्स लिएका छन् । जलयात्रा गर्न प्याकेजमा प्रतिव्यक्ति तीनहजार पाँचसय रुपैया पर्न आउछ । त्यसमा दुई छाक खाना, एक पटक ब्रेकफास्ट र बस्ने कोठाको थप सुविधा संचालकले उपलव्ध गराउदै आएका छन् ।

सुनकोशी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरदेखि मुलकोटसम्म सुनकोशी नदीमा जलयात्राको नियमित रुट हो । जलयात्राका लागि १० वटा बोट(डुंगा) को व्यवस्था गरिएको छ । रिसोटका प्रबन्धक श्रेष्ठका अनुसार कुनै दुर्घट्ना भएमा जलयात्रा गर्ने यात्रुको क्षतिपुर्तिका लागि विमाको सुनिश्चित गरिएको छ । सुरक्षाको प्रबन्ध शतप्रतिशत गरेर मात्रै जलयात्रा गराईने गरिएको छ । त्यसो त करिब छ वर्षअघि जिल्लास्थित सरोकारवाला निकाय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले जिल्लाको कुशेश्वर दुम्जादेखी गोलन्जोर गाउँपालिका–६ बलेनीसम्म झण्डै ३५ किलोमिटर दुरी सुनकोशी नदीमा जलयात्रा संचालनका लागि विशेष परिक्षण गरेको थियो । यो सगै मुलकोटका स्थानीय युवा होटल व्यवसायीहरुले अहिले जलयात्रा व्यवसाय संचालन गरेका हुन् ।

यस अघिनै यस क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री हुदै सुनकोशी नदीमा सुरक्षित जलयात्रा गर्नु भएको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले सुनकोशी नदी जलयात्राका लागि उपयुक्त देखिएको र गाउँपालिकाले पनि अनुमति दिएर सहयोग गरेको बताउनु भयो । र्‍याफ्टीङ भन्ने वित्तिक्कै विदेसीहरुले मात्र गर्ने जलयात्रा भन्ने बुझाई थियो । तर अहिले आन्तरीक तथा बाह्य पर्यटन व्यावसाय प्रबद्र्धनका लागि समेत जलयात्रा आकर्षण हुन थालेको उहाँको अनुभव छ ।

आन्तरीक तथा बाह्य पर्यटनका लागि वैकल्पीक आकर्षण गन्तव्यको रुपमा सुनकोशी नदीमा र्‍याफ्टीङ व्यवसायलाई सुरुवात गर्ने योजना रहेको अर्का होटल व्यवसायी मिन श्रेष्ठको भनाई छ । सुनकोशी नदीमा जलयात्राका लागि आउने पर्यटकहरुको स्वागत, सत्कार, खानबस्न, उपयुक्त होटहलरु निर्माण, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिने जस्ता कार्यमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । जलयात्रामा आउनेहरुको लागि सुनकोशी गाउँपालिकाको मुलकोट, खाल्टे, रामटार, झागाझोली रातमाटा, बोहोरेटारमा आधुनिक र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुल्दै गएका छन् ।

वर्षातको समयमा सुनकोशी गाउ“पालिका ५ मुलकोटबाट वडा नं ६ को खाल्टेसम्म सुनकोशी नदीमा जलयात्रा हुने गरेको छ । सुनकोशीको बाढीमै जोखिम मोल्न सक्नेले र्‍याफ्टिङको मज्जा वर्षातमा समेत लिने गरेका छन् । आन्तरिक पर्यटकहरुलाइ सेफ्टी ज्याकेट लगाएर जलयात्रामा सहभागी गराइन्छ । त्रिशुली, नारायणी, भोटेकासीमा र्‍याफटिङ वर्षातको समयमा जोखिम धेरै हुने भएर वन्द हुने भएपनि सुनकोशी नदीमा उर्लीएको बाढी आफुले सयर गराएर नेपालमै पहिलो हुन सफल भएको प्रबन्धक श्रेष्ठको दावी छ ।

होटलमै रहेको स्विमिङ पुलमा र्‍याफ्टिङको प्रशिक्षण समेत दिने भएकाले जोखिम धेरै हुदैन् । बीपी राजमार्ग सुनकोशीकै किनारबाट भएकाले र्‍याफ्टिङको प्रचुर संभावनालाइ व्यवसायीहरुले सिद्ध गरेको गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया