सिन्धुली– २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरि सिन्धुलीमा पनि मनाईएको छ । ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने नारा सहित २३ औ विश्व दूध दिवस मनाइएको हो ।
भेटेनरी अस्पता तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका प्रमुख जगदेव राउतको अध्यक्षता तथा जिल्ला दुग्ध उत्पादक संघ सिन्धुलीका अध्यक्ष नवराज गजुरेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला दुध उत्पादक सहकारी संस्था, नेपाल डेरी एसोसियशन जिल्ला शाखा सिन्धुली र महाभारत दुध कृषि सहकारी संस्थाको समन्वय तथा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीको आयोजनामा प्रभात फेरि र्याली, अन्तरक्रिया र उत्कृष्ठ दूध उत्पादक कृषकलाई सम्मान समेत गरिएको छ । दुग्ध क्षेत्रमा भएका समस्या चुनौती तथा अवसरका बिषयमा छलफल समेत गरिएको छ ।
कार्यक्रमको अवसरमा जिल्ला दुग्ध उत्पादक संघ सिन्धुलीका अध्यक्ष नवराज गजुरेलले दूधको उत्पादन बढाउनको लागि भेटेनरी अस्पताल, जिल्ला दूध उत्पादन संघ, डेरी संघ कृषक र पालिका मिलेर नयाँ ढंगबाट काम गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तह तथा प्रदेशबाट आउने कार्यक्रमहरु कृषकले थाहा पाउने गरि परिचालन गर्नुपर्ने गजुरेलले बताउनुभयो ।
कार्यक्रममा नेपाली डेरी एसोसियशन शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारी, कमलामाई नगरपालिकाको पशु विकास शाखा प्रमुख डाक्टर रोशन कोइराला बिभिन्न दुग्ध सहकारीका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।