शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सवारी कार्वाहीबाट ३ करोड ४१ लाख राजश्व संकलन

सोमवार , जेठ १५, २०८०

सिन्धुली – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक बर्ष २०७९÷८० को बैशाख महिना सम्म ३ करोड ४१ लाख राजश्व सङ्कलन गरेको छ । सिन्धुलीमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट चालु बर्षको बैशाख ३० गतेसम्म रु ३ करोड ४१ लाख ५ हजार ५ सयँ राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षमा बस, ट्रक टिपर, कार जिप, ट्रयाक्टर, मोटरसाइकल स्कुटर र टेम्पो सहित कुल ३५ हजार ५ सय ५० सवारी कार्वाहीबाट उक्त रकम संकलन गरेको हो ।

विशेष गरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्ने लगायतका ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठुलो परिमाणमा राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका इन्चार्ज जेजंग कार्कीले जानकारी दिनुभयो ।

फाल्गुण महिनामा सबैभन्दा बढी ४ हजार २ सय सवारी साधन कारवाहीमा पर्दा प्रहरीले रु ४५ लाख २१ हजार पाँचसय राजश्व संकलन गरेको थियो । सबैभन्दा कम साउन महिनामा २ हजार १ सय ५० सवारी कारवाही हुँदा रु २४ लाख ३१ हजार राजश्व सङ्कलन भएको जनाइएको छ ।

गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले ३७ हजार सवारी कार्वाहीबाट रु ३ करोड ६९ लाख ८२ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष आफुहरुले बढी मेहनत गरेका कारण बढी राजस्व संकलन भएको कार्यालयका प्रमुख जेजंग कार्कीले बताउनुभयो ।

ट्राफिकले सवारी साधनलाई बढी कार्वाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने अभिप्रायले पटक पटक सबारी चालक तथा यात्रुहरु लाई सडकमै पुगेर सचेतना मूलक प्रचारात्मक अभियान सञ्चालन समेत गर्ने गरेको कार्कीले बताउनुभयो ।

त्यस्तै चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म १ सय ३० वटा सवारी दुर्घटनाबाट २८ जनाको मृत्यू तथा ५७ जना संख्त घाईते र २ सय १८ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गत आर्थिक वर्षमा २ सय ८९ सवारी दुर्घटनाबाट ४६ जनाको मृत्यू भएको थियो भने १ सय ६० जना संख्तघाईते र ३ सय ८२ जना सामान्य घाईते भएका थिए ।

वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्गमा बढ्दो सवारी चाप, कमजोर सडको अवस्था, सवारी चालकको लापरर्बाही, तिव्र गतिका कारण दुर्घटना बढ्ने गरेको छ । ट्राफिक प्रहरीले वीपी राजमार्गमा सवारी दुर्घटना न्युनिकरण गर्न टाईमकार्डको ब्यवस्था गरेको छ भने दिनको समयमा मालबाहक ट्रक सञ्चालनमा समेत रोक लगाएको छ ।

प्रतिक्रिया