सिन्धुली – सिन्धुलीमा पछिल्लो समय सडक सञ्जालको विकाससँगै होटल तथा रिर्सोटमा लगानी गर्ने लगानीकर्ताहरुको संख्यामा बृद्धि भएको छ । करोडौंको लगानीमा होटल तथा रिर्सोटहरु सञ्चालन गर्ने क्रम बढेपनि लगानीकर्ताहरु भने ब्यापार सन्तोषजनक नरहेको बताउछन ।
सिन्धुली विशेषगरी विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्गले यात्रुहरुको आवत जावत बढेसँगै होटल तथा रिर्सोटमा लगानी गर्ने लगानीकर्ताहरुको संख्यामा बृद्धि भएको उद्योग बाणिज्य संघ सिन्धुलीका पुर्व अध्यक्ष बिनेश श्रेष्ठ बताउनुहुन्छ ।
विशेष गरि विपी राजमार्गका यात्रीहरुलाई लक्षित गरेर होटल तथा रिर्सोट खोल्ने क्रममा बृद्धि हुँदै गएको हो । वीपी राजमार्गलाई लक्षित गरि सिन्धुलीमाढी बजारक्षेत्र, सिन्धुलीगढी क्षेत्र, नयाँ सहरको रुपमा विकास हुँदै गरेको खुर्कोट बजार र सुनकोशी गाउँपालिकाको मुलकोट बजार क्षेत्रमा करोडौं लगानीमा होटल, रेष्टुरेन्ट तथा रिर्सोटहरु खुलेका छन ।
विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाइरसका कारण झण्डै २ बर्ष थला परेका होटल तथा रिर्सोटहरु पछिल्लो समय अलि तग्रीन लागेको बताउनुहुन्छ होटल ब्यवसायी संघ सिन्धुलीका महासचिब सिताराम पहाडी । होटल ब्यवसायमा जुन अपेक्षाका साथ लगानी गरिएको छ त्यो अपेक्षा पुरा हुन नसकेको पहाडीको भनाई छ ।
पहाडी भन्नुहुन्छ, “ होटल तथा रिर्सोटमा करोडौं लगानी गरिएको छ, जिल्लाका मात्र होइन बाहिर जिल्लाका ब्यवसायीहरु समेत सिन्धुलीमा आएर लगानी गर्नुभएको छ तर ब्यापार ब्यवसाय सन्तोषजनक अवस्थामा छैन ।” करोडौं लगानीका होटल तथा रिर्सोटहरुको ब्यापार लगानीको तुलनामा अन्यन्तै कमजोर रहेको पहाडीको भनाई छ ।
जिल्लामा ठुला तथा साना गरि ५ सय ६० होटलहरु सञ्चालनमा रहेको भएपनि कोभिड पछि झण्डै २० प्रतिशत होटलहरु बन्द हुने अवस्थामा रहेको पहाडीले बताउनुभयो । जिल्लामा रहेका नब्बे प्रतिशत मध्यम होटहरुको अवस्था नाजुक रहेको बताउँदै पहाडीले उधारोको समस्याले समेत होटलहरु समस्यामा परिरहेको बताउनुभयो ।
देशकै सबैभन्दी बढी राजमार्गले छोएको जिल्लाको रुपमा रहेको सिन्धुलीमा लाईन होटलहरु चलेको भएपनि ठुला लगानीमा सञ्चालन भएका होटल तथा रिर्सोटहरुको ब्यापार कर्मचारी पाल्न नै समस्या हुने गरेको सिन्धुलीमाढीमा सञ्चालित गणपति रिर्सोटका सञ्चालन सन्तोष शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ रिर्सोट जुन अपेक्षाका साथ खोलिएको थियो त्यो अपेक्षा अनुसार ब्यापार हुन सकेको छैन । रिर्सोटको ब्यापार सन्तोषजनक छैन ।” गणपति रिर्सोट सदरमुकाम क्षेत्रको सवैभन्दा ठुलो लगानीमा सञ्चालन गरिएको एकमात्र रिर्सोट भएपनि उक्त रिर्सोटमा ग्राहक र ब्यापारको अवस्था कमजोर रहेको लगानीकर्ताहरु बताउछन ।
त्यस्तै सिन्धुलीगढी क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरि खनियाखर्क क्षेत्रमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नुभएको चेतना भिलेज रिर्सोटको अवस्था पनि त्यस्तै रहेको छ । रिर्सोटको लगानी र सोच अनुसार ब्यापार हुन नसकेको लगानीकर्ताहरु बताउछन । सिन्धुलीगढी क्षेत्रमा खोलिएको पहिलो रिर्सोट चेतना भिलेजमा संघ संस्थाका तालिम बाहेक अन्य ग्राहकहरु खासै जाने गरेको अवस्था नरहेको स्थानीयहरु बताउछन ।
मध्यपहाडी क्षेत्रको नयाँ सहरको रुपमा विकास हुँदै गरेको खुर्कोट बजारमा सञ्चालित होटलहरुको ब्यापारको अवस्था पनि कमजोर रहेको सुबास देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ होटल ब्यवसायमा जुन अपेक्षाका साथ लगानी गरियो त्यो अपेक्षा अनुसार ब्यापार हुन सकेको छैन । दुई बर्ष कोरोनाको कारण ब्यापार ब्यवसाय ठप्प भयो । त्यसपछि पनि खासै ब्यापार छैन । बैंकको ऋण लिएर सञ्चालन गरिएको होटलहरुले बैकंको ब्याज समेत तिर्न नसक्ने अवस्थामा छन ।”
सुनकोशी गाउँपालिकाको मुलकोट बजारमा खोलिएका रिर्सोटहरुको पनि सन्तोषजनक ब्यापार नरहेको सञ्चालकहरु बताउछन । जिल्लामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ भने सामाजिक आर्थिक विकाससँगै लगानीको वातावरण बनेकाले होटल तथा ठूला लगानीको रिर्साेटमा लगानी बढेको भएपनि ब्यापार भने सन्तोषजनक नरहेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठ बताउनुहुन्छ ।
अब जिल्लामा रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको विकास नै प्राथमिकतामा पर्नुपर्ने व्यवसायीको जोड छ । जिल्लामा रहेको सिन्धुलीगढी, हरिहरपुरगढी, पन्चकन्या, विश्वप्रशिद्ध फिक्कल भ्यूटावर, प्रशिद्ध कमलामाई, शिद्धबाबा जस्ता धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचार र विकास सँगै सुनकोशी ¥याफ्टिङ लगायतको विकास गर्न सकेमा यहाँका होटल तथा रिर्सोटहरु चल्न समस्या नहुने अध्यक्ष अर्जुन श्रेष्ठको भनाई छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले यी क्षेत्रहरुको विकासमा चासो देखाउँदै लगानी बढाउन जरुरी रहेको ब्यवसायीहरु बताउछन । यी क्षेत्रहरुको पर्याप्त विकास गर्न सकिए यहाँको होटल व्यवसाय फस्टाउनुका साथै रोजागारीमा वृद्धि, जीवनस्तरमा परिवर्तन आउनुका साथै विदेश पलायनसमेत रोक्न सकिने होटल व्यवसायी संघको दाबी छ ।