सिन्धुली – जिल्ला मालपोत कार्यालय सिन्धुलीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख सम्म जग्गा रजिष्टेशन, पूँजीगत लाभकर, दस्तुर, रोक्का, सेवा शुल्क, दण्ड जरिवाना लगायतका शीर्षकबाट १२ करोड ६० लाख ५१ हजार ४ सय ३९ रुपैयाँ राजश्व संकलन भएको छ ।
मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्ट्रेसन , रातोपुर्जा बिक्री, न्यायीक दस्तुर, प्रशासनिक सेवाशुल्क, रोक्का, मुद्धा र पुँजीगत लाभकरबाट उक्त राजस्व संकलन भएको हो ।
रजिष्टेशन दस्तुर बापत कुल ८ करोड ५५ लाख ८५ हजार २६ रुपैयाँ संकलन भएको छ भने पुँजीगत लाभकर बापत कुल ४ करोड ४ लाख ६६ हजार ४ सय १३ रुपैयाँ संकलन भएको मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी पुरुषोत दाहालले जानकारी दिनुभयो ।
कार्यालयमा जिल्लाका नौं वटै स्थानीय तहका सेवाग्राहीले घरजग्गा सम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको सुचना अधिकारी दाहालको भनाई छ । सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट राजश्व संकलन भएको छ ।
संकलित राजश्वबाट पुँजीगत लाभकर बापतको रकम संघीय सरकारको राजश्व खातामा जम्मा हुने र रजिष्ट्रेशन दस्तुर बापतको रकम स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत हुने कानुनी ब्यवस्था रहेको दाहालले बताउनुभयो ।
महिला, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म रजिष्ट्रेशन पासमा १ करोड २२ लाख ४१ हजार २ सय ४ रुपैयाँ रकम छुट दिइएको मालपोत कार्यालय सिन्धुलीले जनाएको छ । ग्रामीण महिला तर्फ ३१ लाख ९९ हजार २ सय ३४, नगर महिला तर्फ ८२ लाख ५ हजार ८५ राजश्व छुट भएको कार्यालयले जनाएको छ ।
त्यस्तै ग्रामीण दलित तर्फ १ लाख ७३ हजार ९०, नगर दलित तर्फ ३ लाख ३१ हजार २ सय ४७ रुपैयाँ रकम राजश्व छुट भएको छ भने ग्रामीण अपाङ्ग तर्फ १४ हजार ३ सय ९९ र नगर अपाङ्ग तर्फ १६ हजार २ सय रकम राजश्व छुट दिइएको छ भने जेष्ठ नागरिक तर्फ २७ हजार ६ सय १८ रुपैयाँ राजश्व छुट भएको मालपोत कार्यालय सिन्धुलीले जनाएको छ ।
सरकारले महिला, एकल महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग तथा शहीद परीवारहरुको जग्गामा स्वामित्व बढाउनका लागी लिखत पासमा २५ देखी ३५ प्रतिशत राजश्व छुट दिदै आएको छ । महिला, दलित तथा अपाङ्गहरु राजश्व छुट हुने भएपछि राजश्व छुट लिएर लिखत पास गर्नेको संख्यामा ह्वात्तै बृद्धि भएको जिल्ला मालपोत कार्यालय सुचना अधिकारी दाहालले बताउनुभयो । बैशाख मसान्त सम्म महिला, दलित अपाङ्ग तथा जेष्ठ नागरिक सहित कुल ४ हजार ५ सय ७१ रजिष्ट्रेशन पास भएको कार्यालयले जनाएको छ ।