शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सार्वजकि खरिद ऐन विपरित ठेक्का सम्झौता

मंगलवार , जेठ २, २०८०

सिन्धुली– प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले सार्वजनिक खरिद ऐन विपरित ठेक्का सम्झौता गरेको छ ।

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले मिति २०७९ फाल्गुण १४ मा प्रकाशन गरेको सडकको ठेक्कामा अनलाईन मार्फत दर्ता भएको ३ वटा निर्माण कम्पनी मध्ये सवैभन्दा कम मुल्यमा ठेक्का हाल्ने निर्माण कम्पनीलाई ठेक्का नदिई ठेकेदारहरुसँगकै मिलेमतोमा उक्त फर्मलाई मुल्याकंनमै समावेश नगरिएको सिकाक हुस्से निर्माण सेवाका प्रोपाइटर दिपक मिश्रले बताउनुभयो ।

ठेक्का आह्वान भएको हरिहरपुरगढी सडकमा अनलाईन मार्फत दर्ता भएका निर्माण कम्पनी मध्ये सिकाक हुस्से निर्माण सेवाले ४४ लाख ५२ हजार ८ सय ९८, नबवुद्ध निर्माण सेवाले ४५ लाख १८ हजार १ सय ६८ र पिटिआर कन्ट्रक्सनले ४४ लाख ७४ हजार ४ सय ७३ रुपैयामा ठेक्का विड गरेका थिए । उक्त ठेक्का सवैभन्दा कम मुल्यमा ठेक्का विड गर्ने सिकाक निर्माण सेवालाई मुल्याकंनमै समावेश नगरि पिटिआर कन्ट्रक्सनसँग कार्यालयले ठेक्का सम्झौता गरेको छ ।

त्यस्तै लुंगेलिटार–दुम्की–थाक्ले–बासकटेरी सडकमा शिकाका हुस्से निर्माण सेवाले ३९ लाख २४ हजार १ सय १७, दुबे धनमना निर्माण सेवाले ४० लाख ६५ हजार ७ सय १७ र गोलन्जोर थापा कन्ट्रक्सन एण्ड सप्लायर्सले ४२ लाख १२ हजार ९ सय ३३ रुपैयामा ठेक्का विड गरेका थिए । उक्त ठेक्कामा पनि सार्वजकि खरिद ऐन विपरित सबैभन्दा कम मुल्यमा ठेक्का हाल्ने निर्माण कम्पनीलाई ठेक्का नदिएर कार्यालयले गोलन्जोर थापा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ ।

आर्थिक चलखेलमा ठेक्कामा संलग्न फर्मलाई मुल्याकंनमै समावेश नगरिएको भन्दै शिकाक हुस्से निर्माण सेवाले कार्यालय प्रमुख समक्ष पुनःमुल्याकंनका लागी माग गरेको भएपनि कार्यालयले चासो नदिएको शिकाक निर्माण सेवाका प्रोपाईटर दिपक मिश्रले बताउनुभयो ।

ठेक्कामा कानुन विपरित सम्झौता गरिएकाले आफु अख्तीयार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत न्यायका लागी जान बाध्य हुनुपरेको मिश्रले बताउनुभयो ।

उक्त ठेक्का मिलेमतोमा बिड भएको र शिकाक हुस्से निर्माण सेवाले उक्त कुरालाई अस्विकार गर्दै फर्म दर्ता गरेकाले समस्या भएको एक निर्माण ब्यवसायीले बताए । हुस्से निर्माण सेवाले दुवै ठेक्कामा अन्य फर्मको भन्दा न्यून मुल्यमा ठेक्का दर्ता गरेको थियो ।

उता कार्यालयले भने कानुनी रित नपुगेको कारण उक्त निर्माण कम्पनीलाई ठेक्काको मुल्याकंन प्रक्रियामा समावेश नगरिएको जनाएको छ । डिभिजन प्रमुख इन्जिनियर देव नारायण प्रसाद यादवले बोलपत्र मुल्याकंन सन्दर्भमा मुल्याकंन समितिले निर्णय अनुसार निर्माण ब्यवसायीले योग्यताको परिक्षण सम्बन्धी बोलपत्रमा सहभागीता सम्बन्धि बिड डकुमेन्टको फर्ममा भएबमोजिम इएलआई बिवरण पेश नगरेको हुँदा बोलपत्र अस्वीकृत भएको बताउनुभयो ।

प्रतिक्रिया