शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा किसानको प्रविधिमा आकर्षण बढ्दो

मंगलवार , बैशाख ५, २०८०

सिन्धुली– कमलामाई नगरपालिका–४ ढकालगाउँका सुर्य ढकालले खेत जोत्न गोरुको प्रयोग गर्न छाड्नुभएको झण्डै एक दशक भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर तथा ट्याक्टरको प्रयोग गर्नुहुन्छ । उहाँको फाँटमा एक विगाह जमिन छ । वर्षौंदेखि उहाँले धान, गहुँ, मकैँ, तोरी तथा आलु खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ । “अगाडि गोरुले खेत जोत्थे, अहिले पावर टिलर तथा ट्याक्टर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । प्रविधिको प्रयोगले आफूलाई मात्र नभएर धेरै कृषकलाई सहज भएको ढकालको भनाइ थियो ।

स्थानिय तह साथै कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गरिरहेको छ । किसानहरुको समूह कृषि समुहलाई सरकारले अनुदानमा कृषि उपकरण वितरण गरिरहेको छ ।

दुधौली नगरपालिका २ का कृषक अनित कार्कीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उहाँले भन्नुभयो, “यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोगले यहाँका किसान कृषि पेसामा आत्मनिर्भर हुन थालेका छन् । “पहिले परम्परागत तरिकाले खेती गर्थ्यौ, त्यसले जनशक्ति र लागत बढी लाग्ने र उत्पादन कम हुन्थ्यो । अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुने गरेको छ”, कृषक कार्कीले भन्नुभयो । गाउँमा काम गर्ने उमेरका युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तथा शिक्षाका लागि सहर पस्ने गरेकाले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन थालेको उहाँको भनाइ थियो ।

भएका जनशक्तिको दैनिकी ज्याला पनि महङ्गो हुन थालेको अवस्थामा कृषि यान्त्रीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको किसान शंकर ढकालले बताउनुभयो । “विगतको जस्तो काम गर्ने जनशक्ति गाउँमा छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज बनाएको छ । पहिला खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक/दुई सातामै सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया