सिन्धुली – दश बर्षअघिसम्म मरुभूमि जस्तै रहेको बाग्मती नदिको बगर यतिखेर स्थानीय बासिन्दाका लागि सुनजस्तै मँहगो बन्दै गएको छ ।
सिन्धुली र मक्वानपुर जिल्लाको सिमाना भई बग्ने बाग्मती नदिको बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाका विपन्न परिवारले मिहेनत र परिश्रम गरि सुन जस्तै मँहगो उर्बर जमिनमा परिणत गरि गुजराको दरिलो माध्यम बनाएका हुन् । अहिले यहि बगरको उब्जनिले चार सय भन्दा बढि विपन्न परिवारलाई गाँस र बास दिएको छ ।
हरिहरपुरगढी गाँउपालिका–१ निवासी दिलबहादुर घलान अहिले आफ्नो १५ जनाको परिवार बाग्मती नदिको बगरमा उब्जिएको बालिबाट नै पालिएको बताउनुहुन्छ । करिब एक बिघा बगरमा आफुले खेति गरेको र बगरको उब्जनिबाट खाई नसको धानमकै गरि बर्षमा ५० मुरि जति बच्दै आएको पनि उहाँको भनाई छ ।
पाँच वर्षअघिको आफ्नो परिवारको अवस्था स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “चिसापानी डाँडाबाट झरेर खोरिया फाँडेर बसेका थियौं । फाँडेको खोरियामा गरेको जुनेलो खेतिबाट बल्लतल्ल परिवारको पाँच÷छ महिना गुजरा चल्दथ्यो । बाग्मतीको बगरमा त्यो ख्यालको उब्जिनी हुने कसैलाई ख्याल नै थिएन । अहिले बगरमा खेति गर्न थालेपछि परिवारको आर्थिक अवस्थामा समेत निकै सुधार आएको छ ।”
बाग्मती नदिको उक्त बगर ऐलानी(सार्बजनिक) जग्गा भएपनि राम्रो उब्जिनी हुने भएकाले सबैले आँखा गाडेको स्थानिय कृषकहरु बताउछन् ।
सोही ठाँउका अर्का कृषक गणेशबहादुर घलान अहिले बाग्मतीको बगरमा चार सयभन्दा बढि परिवारले करिब एक हजार हेक्टरमा खेति लगाएको जानकारी दिनुहुन्छ । उहाँले पनि आफ्नो १६ जनाको परिवार बगरकै आम्दानीले पालिएको बताउनुभयो । “बगर नभए हाम्रो गाँस र बास नै छैन’ कृषक घलानले भन्नुभयो, ‘मकै वर्षको २०÷२५ मुरि जति बेच्छु । धान पनि ६० मुरी जति हुन्छ । ठूलो परिवार भएकाले धान चाहि आफैले उपभोग गरेर सक्छौं ।”
उहाँका अनुसार उक्त बगरको खेतिबाट अधिकांस तमाङ्ग र माझी समुदायका परिवार लाभान्वित भएका छन् । कसैको पनि जागिर नभएकाले सबैले बगरकै कमाईबाट घरमा चाहिने नुन् भुटुन्को जोहोदेखि आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउदै आएका छन् ।
गुजराको दरिलो माध्यम बनेको बगरलाई वर्षादको मौसममा समय–समयमा बाग्मतीमा आउने बाढीले दुःख दिने गरेको गुनासो स्थानिय कृषकहरुले गरेका छन् । उनीहरुका अनुसार बाग्मती नदिको किनारमा १० वर्ष पहिले तत्कालिन समयमा जिविसको १४ लाख रुपैया सहयोगमा निर्माण गरिएको तटबन्ध पनि अहिले ठाँउ–ठाँउमा भत्किएकाले बगरमा गरेको खेती असुरक्षित बनेको छ ।