शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईको ‘किसान कल सेन्टर’ किसानको कलको पखाईमा

बिहिवार , चैत्र ३०, २०७९

सिन्धुली – कमलामाई नगरपालिकामा सञ्चालन भएको ‘किसान कल सेन्टर’ किसानको कलको पर्खाइमा छ । नगरपालिकाले किसानको गुनासो तथा जिज्ञासा सुन्नका लागि किसान कल सेन्टर संचालन गरेको हो ।

नेपाल सरकारअन्तर्गत फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानका लागि कल सेन्टर स्थापना गरिएको हो । कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी नगरपालिकालाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ विगत दुई वर्ष देखि सञ्चालनमा आएको उक्त कल सेन्टरमा किसानले समस्या साथै नगरपालिकामा संचालन भएको कृषि कार्यक्रमको बारे जानकारी लिनेछन् ।

हाल महिनाको ३० देखि ४० वटा किसानको कल आउने गरेको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवि सापकोटाले बताउनुभयो । नगरपालिकाका कृषि प्राविधिकले किसानको समस्याको समाधान बारे जानकारी दिने छन् ।

कृषिका सामान्य समस्या समाधानको लागि कल सेन्टरले महत्वपूर्ण भूमिका खेलेको छ । सामान्य कृषि सम्बन्धी जानकारी लिनका लागि सिन्धुलीमाढी सम्म आइपुग्नपर्ने बाध्यताको अन्त भएको कमलामाई नगरपालिका १२ का किसान तुलाराम कार्कीले बताउनुभयो । कृषि देखिएको विभिन्न रोगको प्रकोप, कृषिका कार्यक्रम साथै विभिन्न कृषि सम्बन्धी जानकारी लिन सहज भएको उहाँको भनाई छ ।

किसानले बालीमा देखिएको प्राविधिक समस्या साथै कमलामाई नगरपालिकाले संचालन गरेको कृषिका कार्यक्रमको बारे जानकारी लिन कल गर्ने गरेका छन् । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई सरकारको तर्फबाट उपलब्ध गराउने सेवालाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने भएकाले किसान कल सेन्टरको स्थापना गरिएको कमलामाई नगरपालिकाका कृषि प्राविधिक सरोज फुयालले बताउनुभयो ।

उक्त सेवा प्रदान गरेसँगै किसानले खाद्यान्न, बाली संरक्षण, मौरीखेती, च्याउखेती, कृषि बजार, फलफूल, तरकारी पुष्पखेती, माटोसम्बन्धी विषयवस्तु, पशुपक्षीपालन, उत्पादन प्रविधि, घाँस तथा पशु आहारका बारेमा बुझ्न पाउनेछन् । यस्तै खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारीसम्बन्धी जिज्ञासा राख्न सक्नेछन् भने खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती, उत्पादन प्रविधि, घाँस तथा पशु आहार र चरन व्यवस्थापनका बारेमा जिज्ञासा राख्न पाउनेछन् ।

जिल्लाभरिका किसानले कृषि समस्याको बारे जानकारी लिनपाउने प्राविधिक सापकोटाले बताउनुभयो । मरिण गाउँपालिकाका किसान पनि कृषि समस्याको बारेमा जिज्ञासा राख्ने गरेको उहाँले बताउनुभयो । किसान कल सेन्टर स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय धाउन नपर्ने वातावरण सिर्जना गर्न खोजिएको नगरपालिकाले जनाएको छ । किसान कल सेन्टर स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम् प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्याहरु तथा क्षति समाधानका उपाय, सूचनाहरु एकै ठाउँबाट उपलव्ध गराउनु मुख्य उद्देश्य भएको नगरप्रमुुख उपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रबाट सञ्चालनमा आएको उक्त कल सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । उक्त कल सेन्टरमा १६६०४७ ५२२३४ टोल फ्रि नम्बरमा फोन गरेर कृषिसम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने छन् ।

प्रतिक्रिया