सिन्धुली – मरिण गाउँपालिका ६ लहरेका राजकुमार वाइबा व्यवसायिक तरकारी खेति र बाख्रा पालनबाट मनग्य आम्दानी गरिरहनु भएको छ । २६ वर्षिय वाइबा तरकारी खेति र बाख्रा पालनबाटै घरखर्च जोहो गर्ने गरेको सुनाउनुहुन्छ । “मेरो पाँच जनाएको परिवार छ । यहि तरकारी खेति र बाख्राबाट आएको पैसाले घरखर्च टार्ने गरेको छु । पाँच जना पाल्न अहिले सम्म पुगेको छ ,” उहाँले भन्नुभयो ।
बाइबाको खेतिमा अहिले टमाटर लटलरम्मै फलेको छ । चार कठ्ठा जमिनमा उहाँले व्यवसायिक तरकारी खेति गर्नुभएको सुनाउनुहुन्छ । “जम्मा चार काठ्ठामा तरकारी खेति गरेको थिए । अहिले चाहिँ टमाटर मात्रै छ । पानीको सुविधा भएकाले तरकारी आफुले सोचे अनुसार फल्छ ,” उहाँले भन्नुभयो ।
हाल बाइबाले टमाटारबाट महिनाको ९ हजार भन्दा बढी कमाउनु हुन्छ । साप्ताहिक रुपमा उहाँले ट्माटार बजारमा लगेर बेच्ने गरेको सुनाउनुहुन्छ । “एक–एक हप्तामा बेच्ने बेला हुन्छ । आफैले बजारमा लगेर विक्री गर्छु । किलोको ४० देखि ५० रुपैया सम्म विक्री हुन्छ ,” उहाँले भन्नुभयो ।
मरिण गाउँपालिका मै हाट लाग्न थालेपछि तरकारी विक्री गर्न सहज भएको बाइबाले सुनाउनुभयो । उहाँले साप्ताहिक रुपमा हाट मै लगेर तरकारी विक्री गर्नुहुन्छ । “मरिणमै हाट लाग्न थालेपछि तरकारी विक्रि गर्न सजिलो भएको छ । हाटमा तरकारी सजिलै विक्रि हुन्छ । प्राय आफै हाटमा लगेर पनि बेच्ने गर्छु ,” उहाँले भन्नुभयो । बाइबाले सिजनमा काउँली, बन्दा, खुसार्नी लगाएतको तरकारी विक्री गर्नुहुन्थ्यो । सडक नभएको कारण उत्पादन भएको तरकारी बजार सम्म पु¥याउन समस्या हुने गरेको छ ।
बर्खाको समयमा पैदल हिडेर बजार पुग्न समेत नसकिने उहाँले गुनासो गर्नुभयो । “वर्खाको समयमा खोलाबाढी आउँछ । बजार जान पनि सकिन्न, उत्पादन भएको तरकारी खेत मै कुहिने समस्या हुन्छ । समयमा विक्री गर्न नपाएपछि तरकारी सबै कुहिने पनि गर्दछ । यो समयमा त गाडि आउन मुस्किल छ ,” उहाँले भन्नुभयो ।
एक घण्टा पैदल हिडेर उहाँ तरकारी बेच्न छाप बजारमा पुग्नुहुन्छ । आफुले उत्पादन गरेको तरकारी सहज तरिकाले बजार सम्म पु¥याउन सके अझ बढी तरकारी खेति गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाबाट तरकारी खेति र बाख्रा पालनका लागि सहयोग उहाँले पाउनुभएको छ । उहाँका अनुसार बाख्रा पाल्ने तरिका, गोठ सुधार, उन्नत जातको बोका, तरकारी खेतिका लागि आवश्यक सहयोग गाउँपालिकाले गरिरहेको छ । बाख्रा पालनबाट पनि बाइबाले राम्रो आम्दानी लिने गरेको सुनाउनुभयो । “उन्नत जातको बोका पाएका छौँ । अहिले मेरो खोरमा ४ वटा उन्नतजातको बोका उत्पादन भइसकेको छ । अर्को बाख्रा पनि ब्याउने छ । त्यो बाख्रालाई पनि उन्नत जातकै बोका लागएको थिए । आम्दानी राम्रो हुन्छ भन्ने विश्वास गरेको छ ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाले बाख्रा पालन गर्ने तालिम दिएपछि उहाँलाई बाख्रा हुर्काउन सहज समेत भएको छ । बाख्रालाई कति समयमा खान दिने, केके खान दिने र कसरी खान दिने भन्नेबारे तालिममा सिकेको बाइबाले बताउनुभयो । “तालिम लिएपछि बाख्रा पाल्न पनि सजिलो भएको छ । पहिले घासँ मात्रै धेरै खुवाउन पर्छ भन्ने थियो । घासँ काटिरहनु पथ्र्यो, दुख थियो । अहिले एक समयमा घासँ हाल्दिएपछि ढुक्क हुन्छ । एक समयमा कुडो दिनेको गरेका छौँ । हाल्दिएको घासँ नास गर्ने भन्ने चिन्ता पनि हुन्न । सुधारीको गोठले सजिलो भएको छ ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाले उत्पादन भएको बाख्रा, तरकारी सहज रुपमा बजार सम्म पु¥याउने व्यवस्था गरिदिए बाइबा जस्तै लहरेका अन्य किसान पनि थप कृषि खेतिमा आकर्षित हुने देखिन्छ ।