शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सरकारी छाप प्रयोग हुने बैँक ७४ लाख भन्दा बढी नाफामा

शनिवार , फाल्गुण ६, २०७९

सिन्धुली – सिन्धुली जिल्लामा संचालित एक मात्र नेपाल सरकारको छाप प्रयोग हुने हुलाक बचत बैँक ७४ लाख भन्दा बढी नाफामा रहेको जनाएको छ । जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी सुर्य थापाका अनुसार हाल हुलाक बचत बैँक ७४ लाख ६४ हजार ४ सय ४३ रुपैया १६ पैसा नाफामा गएको हो । बैँकमा १ हजार ३ सय ७५ बचतकर्ता रहेका छन् । बैँकले ६६ लाख ४० हजार ऋण लगानी लगाएको छ ।

हुलाक बचत बैँकमा दुइ प्रकारको खाता रहेका छन् । जेष्ठ नागरिक बचत खाता र साधारण बचत खाता रहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक बचत खातामा ७ प्रतिशत र साधारण बचत खातामा ६ प्रतिशत ब्याज आउने छ । हुलाकमा कार्यरत स्थायी कर्मचारीलाई मात्रै बैँकले ऋण दिने उहाँले बताउनुभयो । हुलाकका थायी कर्मचारीलाई ४ लाख सम्म बैँकले ऋण दिने उहाँले जानकारी दिनुभयो । अन्य नागरिकले भने हुलाक बचत बैँकमा बचत मात्रै गर्न पाउने छन् ।

यसैबिच, जिल्ला हुलाक कार्यालय सिन्धुलीले सात महिनाको अवधिमा झण्डै ८ लाख राजश्व संकलन गरेको छ । सात महिनाको अवधिमा ७ लाख ८५ हजार ७ सय ७८ रुपैया राजश्व संकलन गरेको हो । हुलाक सेवा शुल्कबाट ६ लाख ४६ हजार ५ सय ९३, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३ सय, रेडियो एफएम संचालन दस्तुर ८ हजार, टेलिभिजन संचालन दस्तुर १ लाख २९ हजार २ सय र अन्य प्रशासनिक सेवा शुल्क १ हजार ६ सय ६५ रुपैया संकलन भएको सुचना अधिकारी थापाले जानकारी दिनुभयो ।

हुलाक कार्यालय सिन्धुलीमा दरबन्दी अनुसारको कर्मचारी नहुदाँ नियमित कामकाजमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया