शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको स्थानीय तहमा बेरुजू र अनियमितता बढ्दै

आइतवार , माघ २९, २०७९

सिन्धुली – महालेखा परिक्षकले आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार सिन्धुलीका नौ वटा स्थानीय तहमा २९ करोडभन्दा बढी बेरुजु देखाएको छ । प्रतिवेदन अनुसार २९ करोड ४३ लाख ७७ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षकले कमलामाई नगरपालिकाको २ अर्ब २७ लाख २८ लाख ९७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड ७१ लाख ८५ हजार अर्थात १ दशमलब ६५ प्रतिशत रकम बेरुजु रहेको औँल्याएको छ ।

दुई नगरपालिका मध्ये जिल्लामा सबैभन्दा कम बेरुजु देखिएको दुधौली नगरपालिकाको १ करोड ९४ लाख १० हजार अर्थात् जम्मा खर्च रकमको शुन्य दशमलब ८३ प्रतिशत रकम बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

दुधौली नगरपालिकाको २ अर्ब ३३ करोड ९० लाख ८६ हजारको लेखापरीक्षण भएको थियो । गाउँपालिका मध्येमा सबैभन्दा बढी तीनपाटन गाउँपालिकाको बेरुजु ९ करोड ८४ लाख ९३ हजार अर्थात ६ दशमलब १५ प्रतिशत बेरुजु छ । महालेखाले तीनपाटन गाउँपालिकाको १ अर्ब ६० करोड २४ लाख १० हजारको लेखापरीक्षण गरेको थियो । त्यस्तै प्रतिवेदन अनुसार सात गाउँपालिकाहरूमा हरिहरपुरगढी गाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको छ ।

हरिहरपुरगढी गाउँपालिकाको ९६ करोड ९ लाख ६७ हजारको लेखा परीक्षण गर्दा ३६ लाख ७३ हजार अर्थात् शुन्य दशमलब ३८ प्रतिशत रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । फिक्कल गाउँपालिकाको ९९ करोड ६८ लाख २५ हजारको लेखा परीक्षणमा ४ करोड ६१ लाख ५८ हजार अर्थात ४ दशमलब ९३ प्रतिशत बेरुजु रहेको छ ।

सुनकोशी गाउँपालिकाको ४ करोड २० लाख ६ हजार अर्थात ४ दशमलब ६४ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकले सुनकोशी गाउँपालिकाको ९० करोड ६२ लाख १२ हजारको लेखा परीक्षण गरेको थियो । मरिण गाउँपालिकाको १ अर्ब २९ लाख ९४ हजारको लेखा परीक्षणमा २ करोड ६३ लाख ६४ हजार अर्थात २ दशमलब ६२ प्रतिशत बेरुजु रहेको छ ।

घ्याङलेख गाउँपालिकाको ५६ करोड ८१ लाख १७ हजारको लेखा परीक्षणमा १ करोड ३१ लाख ७३ हजार अर्थात २ दशमलब ३२ प्रतिशत रकम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गोलन्जोर गाउँपालिकाको ८६ करोड ५८ लाख ७१ हजारको लेखा परीक्षणमा ७९ लाख १४ हजार अर्थात शुन्य दशमलब ९१ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिक्रिया