सिन्धुली – अनुगमन र नियमन गर्ने निकायले बजारको नियमित अनुगमन नगर्दा जिल्ला सदरमुकाम सिन्धुलीमाढी लगायत जिल्लाका बिभिन्न स्थानिय बजारहरुमा उपभोक्ताहरु ठगिएका छन भने दर्ता बिनानै व्यापार व्यवसायहरु सञ्चालन हुँदै आएका छन ।
सदरमुकाम बाहिरका बजारहरुमा दर्ता बिनानै पसल संचालन भईरहेका छन भने व्यवसायीहरुले मनोमानी मूल्य निर्धारण गर्ने गरेको स्थानियहरुले गुनासो गर्ने गरेका छन । बजारमा ब्यापारीहरुले खाद्ययान, तरकारी तथा घरायसी प्रयोगका सामाग्रीहरुको मनोमानि मुल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ । अहिले व्यवसायीहरुले तोकिएको मुल्य भन्दा आफ्नै मनोमानी मुल्यमा सामान बिक्री गर्ने गरेका छन ।
बजार अनुगमन नहुँदा जिल्लाको माढीबजार लगायत विभिन्न् क्षेत्रहरु दुधौली, चकमके, डकाहाँ, खुर्कोट, मरिण लगायतका स्थानहरुमा उपभोक्ताहरु ठगिरहेका छन भने विक्री वितरण गरिएका खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तर जाँच तथा अनुगमन हुने गरेको छैन ।
उता जिल्ला स्थित उद्योग तथा ब्यवसायको दर्ता, नबिकरण, नियमन तथा अनुगमनको कार्य गर्ने जिम्मेवारी सम्हालेको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रविण श्रेष्ठले भने नियमित रुपमा बजार अनुगमन हुने गरेको दाबी गर्नुभयो । गुनासोको आधारमा बजार अनुगमन गरि जरिवाना तथा चेतावनीका कामहरु भएको श्रेष्ठले बताउनुभयो ।
जिल्लाका स्थित बजार अनुगमनका लागी सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ र उपभोक्ता हक हित संरक्षण मञ्च रहेको बजार अनुगमन टोली रहेको भएपनि उक्त टोलीले लामो समय देखी बजार अनुगमनको कार्य नगरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिब पुष्कर थापाले बताउनुभयो ।
उता कानुनले स्थानीय सरकारलाई बजार अनुगमन र नियमन गर्ने अधिकार दिएको भएपनि गाउँपालिका तथा नगरपालिकाले बजार अनुगमन र नियमनलाई प्राथामिकतामा राख्ने गरेका छैनन ।
बजार अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्यव गर्दै अनुगमन कार्यलाई प्रभावकारी बनाउने छलफल भएको र चाडै बजार अनुगमन गरि उपभोक्ताहरुको गुनासोलाई सम्बोधन तथा गैर कानुनी ब्यापार ब्यवसायीलाई कानुन अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानलेले बताउनुभयो ।
किन हुँदैन बजार अनुगमन ?
बजारमा खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्रीको मुल्य छोइ नसक्नु छ । बजारमा स्वाभाविकभन्दा पनि अस्वाभाविक रूपमा महँगी बढ्ने गरेको छ । बजारमा भईरहेको अस्वाभाविक मूल्यवृद्धिबारे सरकारी निकाय पनि जानकार छ । तर के–कति कारणले मूल्यवृद्धि गरिएको हो भन्ने कुराको खोजी नीति नियामक निकायले गर्न सकेको छैन । नियमित बजार अनुगमन छैन । बजार अनुगमनको जिम्मेवारी बोकेको सरकारी निकाय औपचारिकता मात्र पुरा गरिरहेको छ ।
हरेक वर्ष दसैं–तिहारमा बजार अनुगमन भन्दै सल्बलाउने गरिन्छ । त्यसपछि बजार अनुगमन हुँदैन । कुनै पनि वस्तुको मूल्य स्वाभाविक हुनु पर्ने हो । तर उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले हैरान छन् ।
बजार अनुगमन नियमित भए मनपरी मूल्य निर्धारण हुने थिएन । उपभोक्ताले पनि गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने थिए । तौलमा ठगिनु पर्ने थिएन । म्याद गुज्रेका खाने कुराबाट उपभोक्ता जोगिने थिए । तर सरकारी निकायबाट बजार अनुगमन नियमित र प्रभावकारी नहुँदा उपभोक्ता असाध्यै मारमा परेका छन् । नियमित अनुगमन हुने हो भने बजार नियन्त्रित हुन्थ्यो र उपभोक्ता लाभान्वित हुन्थे ।
बजारमा अराजकता छ । यसको मुख्य कारण नियमित अनुगमनको अभाव नै हो । झारा टार्ने खालका अनुगमनको कुनै अर्थ छैन । प्रभावकारी र उपलब्धिमूलक अनुगमन नभएसम्म बजारको अराजकता कम हुने देखिदैन । बजारको बेथितिलाई रोक्न सरकारी निकायबाट कुनै पहल नहुनु दुःखद कुरा हो । खुलेआम उपभोक्तामाथि ठगी गरेर व्यवसायीले राज्यको नीति नियमलाई नै चुनौती दिएका छन् । यस्तो अवस्थाको अन्त्य गर्न सरकार र त्यस मातहतका सरोकारवाला निकायहरूले प्रभावकारी कदम चाल्न जरुरी रहेको उपभोक्ताहरु बताउछन ।
निर्माण सामग्रीमा पनि मूल्यवृद्धि, मारमा उपभोक्ता
निर्माण सामग्रीको खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढेको छ । विशेषगरी जाडो मौसममा विकास निर्माण तथा घर निर्माण कार्य अत्याधिक हुने गर्दछ । तर, बजारमा भने आवश्यक निर्माण सामग्रीको मूल्य बढेको छ ।
निर्माण कार्यको मुख्य सिजन मानिने जाडो मौसममा बजारमा निर्माणका लागि आवश्यक सिमेन्ट, डण्डीलगायतका वस्तुमा मूल्य वृद्धि भएको हो । जसले गर्दा प्रत्यक्ष असर आम उपभोक्ता र निर्माण व्यवसायीलाई परेको छ ।
निर्माण व्यवसायी सिन्धुलीका अध्यक्ष तुलसी श्रेष्ठले मुख्य सिजनमै निर्माण सामग्रीको मूल्य बढ्दा बिकास निर्माणका आयोजना निकै प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष मुख्य सिजनमै मूल्यवृद्धि गर्ने प्रवृत्ति रहिआएको छ । यो वर्ष पनि बालुवा डण्डी, सिमेन्टलगायत अन्य निर्माण सामग्रीमा मूल्य बढेको छ ।
त्यस्तै, घर निर्माणको लागि आवश्यक रङ, सिमेन्ट, बालुवा, डण्डीको मूल्य बढ्दा आम उपभोक्तालाई निकै मारमा परेको उहाँको भनाइ छ ।
मुल्य बृद्धि मात्र हैन जिल्लामा डण्डी, सिमेन्ट, बालुवा, ढुंगाको बजार मुल्यमा समेत एकरुपता नरहेको उपभोक्ताहरुको गुनासो रहेको छ । अनुगमनको अधिकार प्राप्त निकायले अनुगमन र नियमन नगर्दा उपभोक्ताहरु एउँटै बजारमा फरक–फरक मुल्य तिर्न बाध्य हुने गरका छन ।