सिन्धुली – जिल्लामा घरेलु तथा साना उद्योगहरु दर्ता गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । सिन्धुलीमा हाल सम्म उत्पादनमुलक, कृषि तथा बनजन्य, पर्यटन र सेवामुलक गरि चालु आर्थिक वर्षको पौष मसान्त सम्म कुल ५ हजार ३ सय ६२ घरेलु तथा साना उद्योगहरु दर्ता रहेको कार्यालयले जनाएको छ । दर्ता रहेका उद्योगहरु मध्ये सबैभन्दा बढी २ हजार ७ सय ६ वटा कृषिजन्य उद्योगहरु छन ।
हाल सम्म दर्ता भएका विभिन्न् क्षेत्रका उद्योगहरुले २१ हजार ३ सय ४२ जनालाई रोजगार बनाएको र ७ हजार ५५ जना ब्यक्तिहरु उद्यमीको रुपमा रहेको कार्यालयको तथ्याकं रहेको छ । दर्ता रहेका उद्योगहरु मध्ये ४ हजार ९ सय ९५ ब्यक्तिगत स्वामित्वका, १ सय ३३ वटा साझेदारीका र १ सय ४९ वटा कम्पनी अन्र्तगत रहेको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका अनुदेशक अधिकृत माधब बगालेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा कुल ५ सय ४७ उद्योग दर्ता तथा उद्योग प्रशासन सम्बन्धी अन्य कामहरुबाट ८७ लाख ४४ हजार ९ सय ८० रुपैयाँ राजश्व रकम संकलन गरेको थियो भने वाणिज्य फर्म दर्ता तथा वाणिज्य प्रशासन सम्बन्धी अन्य कार्यबाट ६७ लाख १८ हजार ९ सय रुपैयाँ गरि कुल १ करोड ५५ लाख ९३ हजार ९ सय ९३ रुपैयाँ राजश्व रकम संकलन गरेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाणिज्य तर्फ जिल्लामा हाल सम्म ४ हजार ४ सय ८२ फर्म दर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ३ सय ६ फर्म दर्ता भएका थिए भने चालु आर्थिक बर्षको पौष मसान्त सम्म १८३ फर्म दर्ता भएको अधिकृत बगालेले जानकारी दिनुभयो ।
जिल्ला भित्रका साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएको कार्यालयको भनाई छ । जिल्लाका साना एवम् मझौला कृषकले कृषि उद्योग दर्ता गर्ने क्रम बढेको साथै विधिबत रुपमा दर्ता भएका उद्योगलाई सरकारले विभिन्न किसिमका सेवा सुविधा दिन थालेपछि पनि उद्योग दर्ताको संख्या बृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका अनुदेशक अधिकृत माधब बगालेले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयले प्रादेशिक ब्यापार तथा ब्यवसाय सम्बन्धी ऐन–२०७६ अनुसार लद्यु उद्यम, घरेलु उद्योग, साना उद्योग, मझौला उद्योग दर्ताको काम गरिरहेको छ भने १ लाख देखी ५ करोड सम्मको कुल पुँजी भएको उद्योग तथा वाणिज्य फर्म दर्ता र नविकरणको काम गर्दै आईरहेको छ ।
स्थानीय तहमा पनि उद्योग ब्यवसाय दर्तामा बृद्धि
संघीय संरचनासँगै प्रादेशिक ब्यापार तथा ब्यवसाय सम्बन्धी ऐन–२०७६ ले स्थानीय तह गाउँपालिका वा नगरपालिकाले ५ लाख सम्मको उद्योग ब्यवसाय दर्ता गर्ने अधिकार प्रदान गरेसँगै स्थानीय तहमा पनि उद्योग र ब्यवसाय दर्ता गर्नेहरुको संख्यामा ब्यापक बृद्धि भएको छ । गाउँपालिका तथा नगरपालिकामा दर्ता हुने उद्योगहरुमा पनि अधिकाशं कृषि, पशुपालन र ब्यापार सम्बन्धी फर्महरु रहेका छन । ग्रामीण क्षेत्रका स्थानीयहरु केन्द्र, प्रदेश तथा स्थानीय सरकारको अनुदान तथा सेवासुविधा प्राप्त गर्न र बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिनकै लागी भनेपनि उद्योग ब्यवसाय दर्ता गर्ने गरेका छन ।
उद्योगहरुलाई प्रविधि हस्तान्तरण गर्दै कार्यालय
जिल्लामा उद्योग/ब्यवसायको दर्ता, अनुगमन, नियमन लगायतको काम गर्दै आईरहेको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीले दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुलाई निरन्तरता दिन र उद्योगहरुलाई प्रबद्र्धन गर्नका लागी उद्योगहरुलाई बर्षेनी प्रविधि हस्तान्तरणको कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा कार्यालयले कोभिडको समस्यामा परेका जिल्लाका विभिन्न् क्षेत्रका ८७ उद्योगहरुलाई मागको आधारमा ८० प्रतिशत अनुदानमा प्रविधी हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । चालु आर्थीक वर्षमा पनि सुचना आव्हान गरिएको र ५० प्रतिशत अनुदानमा ६० लाख बराबरको प्रविधी हस्तान्तरणको कार्यक्रम रहेको कार्यालयका अनुदेशक अधिकृत माधव बगालेले बताउनुभयो ।