सिन्धुली – फिक्कल गाउँपालिका २ का कृषक सन्तोष गिरिले उन्नत खालको बोका (वोयर) मार्फत आफूले पालेका बाख्रामा प्रजनन गराएर ६ वटा पाठापाठी उत्पादन गराउनुभएको छ । सलक्क परेका हलक्क बढिरहेका पाठापाठी देख्दा उनी अहिले खुसीले गदगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यावसायिक बन्ने इच्छाका साथ अघि बढिरहेका छन् ।
सोेहि ठाउँका अर्का किसान सुशिला थापा सुरुमा त गाउँमा वोयर बोका देख्दा छक्क पर्नुभयो । कहाँ बाख्रा पनि यति ठूलो हुन्छ होला र ? भन्दै छक्क परेका उहाँले पनि परीक्षणका लागि भन्दै आफूले पालेका बाख्रालाई (वोयर) बोकामार्फत प्रजनन गराउनुभयो । अहिले (वोयर) बोकामार्फत ३ वटा पाठापाठी उहाँकोमा उत्पादन भएका छन् । ती सलक्क परेका पाठापाठी खेलाउँदै उहाँले भन्नुभयो, “अब सबैले उन्नत खालका बाख्रा पालेर समृद्धि खोज्नुपर्छ ।”
पछिल्लो समया सिन्धुलीका कृषकहरू बोयर जातको बाख्रा पालनप्रति आकर्षित भएका छन् । चाडो फस्टाउने र व्यावसायिक रूपमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनीहरू बाख्रा पालन थालेका हुन् । सिन्धुलीमाडी लगायत अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बोयर बाख्रापालन गर्नेको संख्या बढ्दै गएको छ । स्थानीय जातका बाख्रा भन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने कृषकहरूको भनाइ छ ।स्थानीय जातका खसी र बोकाको तुलनामा बोयर जातका खसी–बोकाको राम्रो उत्पादन र उत्पादकत्व हुने भएकाले सोही जातका बोकाको माग अत्यधिक बढेको देखिएको छ ।