शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा जुनार पाकेर पहेलपुर, मुख्य बजारमा जुनार पाइन थाले

बुधवार , मंसिर २१, २०७९

सिन्धुली – सिन्धुलीमा यति बेला जुनार पाकेर पहेलपुर भएका छन् । यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याई छ । यस क्षेत्रका गाँउ बस्तीका बारी र बगैचा अहिले जुनार पाकेर पहेलपुर देखिएको छ । किसानका अधिकांश बगैचामा अहिले जुनार लटरम्मसम्म देखिन्छन् ।

जुनार खान योग्य भएपछि बिक्री वितरणका लागि बजारमा समेत ल्याइएको छ । सिन्धुलीको वीपी राजमार्गको खनियाखर्क, खुर्कोट र सिन्धुली माडी बजार लगायतका मुख्य बजारहरुमा जुनार पाइन थालेका छन् । विपी राजमार्गस्थित यहाँको गोलञ्जोर गाँउपालिका ५ खनियाखर्कमा जुनारलाई प्रमुख प्राथमिकताका साथ बजारमा बिक्रिका लागि राखिएको छ ।

राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ । पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्रुनै जुनारको मुख्य ग्राहक हुन् । बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ । रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ ।

विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रिका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई कार्यालयका प्रमुख रमेश हुमागाईले भन्नुभयो, “सिन्धुली जिल्ला जुनारले उद्गम स्थलको श्रेय पाएको छ”, उहाँले भन्नुभयो, “सिन्धुली र जुनार एक अर्काको पर्यवाचीनै हुन् । त्यसैले सिन्धुलीका फलफुल पसल मात्रै नभएर अन्य क्षेत्रमा समेत जुनारले पहेलपुर भएको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनको एक तथ्यांकका अनुसार यस वर्ष सिन्धुलीका विभिन्न स्थानहरुमा कुल २ हजार ५ सय हेक्टर क्षेत्रफलमा जुनारखेती भएपनि ती मध्धे कुल १ हजार हेक्टर जमिनमा जुनारको गुणस्तरीय रुखहरुबाट फल उत्पादन भएको जनाइएको छ । यस वर्ष करिब १६ हजार मेट्रिक टनको हाराहारीमा जुनार उत्पादन भएको एक तथ्यांकले देखाएको छ । यस वर्ष करिब १९ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिए पनि विभिन्न प्राकृतिक प्रकोपका कारणले सोही अनुसारको उत्पादन हुन नसकेको हो । सिन्धुलीको जुनार बिक्री–वितरणबाट यसवर्ष करिब ७५ करोड रुपैयाँको आम्दानी हुने अनुमान गरिएको छ । सिन्धुलीमा यसपाली गुणस्तरीय जुनारको मूल्य सरदर प्रतिकेजी ८० देखि १ सय रुपैयाँ भएको पाइएको छ ।

विगतका वर्षमा जुनारमा फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप देखिएपनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको छ ।

प्रतिक्रिया