सिन्धुली – सडक निर्माणसँग सँगै सिन्धुलीका ग्रामिणक्षेका स्थानीय उत्पादनले बजार पाउन थालेको छ । आफुले उत्पादन गरेका कृषि जन्य पदार्थबिक्रीका लागि किसान र स्थानीय व्यापारी बिपी राजमार्गलाई व्यापारको केन्द्र वनाउन थालेका छन् ।
खास गरी सुनकोशी गाँउपालीकाको वडा नम्वर ३ वोहोरेटार,गणेस्थान,हस्पिटल चोक,वडा नम्वर ६ को चैनपुर रातो डाँडा तथा खाल्टे,गोजन्जोर गाँउपालिकाको खनियाँखर्क, खुर्कोट बजार कमलामाई नगरपालिका सेल्फी डाँडा लगायतका राजमार्ग छेउछाउमा यतिबेला कृषकहरुले आफुले उत्पादन गरेका फलफुल,तरकारी विशेषगरी मौसमी फल आट, अम्बा र अकबरे खुर्सानी बेच्न राखिएको देखिन्छ । सडक निर्माणसँग सँगै राजमार्गमा यात्रुको आवात,जावत पनि बढ्दै गएकाले यहाँको उत्पादन बिक्री गर्न सजिलो भएको हो ।
जुनारको जिल्ला भनेर चिनिएको सिन्धुलीमा जुनार र जुनारको जुसमात्र होइन, आँट,अम्बा, अकबरे खुर्सानी, अकबरे खुर्सानीको अचार, काँक्रो, भुइँकटहर, केरालगायतका मौसमी तथा बेमौसमी फलफूल र अर्गानिक तरकारी को उत्पादन पनि राम्रो हुन्छ । यिनै स्थानीय उत्पादन बिक्रीका लागि राजमार्ग आसपास क्षेत्रका किसान विक्री गर्न तथा यात्रुहरु स्थानिय उत्पादन किन्न बिपी राजमार्ग माध्यम वनेको छ ।
जिल्लाको सदरमुकाम सिन्धुलीमाढी बजार, बनेपा,सिन्धुली,बर्दिबास राजमार्ग छेउछाउमा यतिबेला विशेषगरी मौसमी फल आट, अम्बा,नास्पाती र अकबरे खुर्सानी बेच्न राखिएको देखिन्छ । साउनदेखि कात्तिकसम्म आँटी र अम्बाको पनि सिजन हो । राजमार्गका ठाउँ ठाउँमा किसान र व्यापारी बिक्रीका लागि प्लाष्टिकको झोलामा भाग लगाएर हात,हातमा बेच्न राख्ने गरेको भेटिन्छ ।
सुनकोशी गाउँपालिका ३ बोहोरेटारको वलराम चोकमा एक महिनादेखि यसको मात्र बजार लागेको छ । यी फल सुनकोशी गढतिर क्षेत्रको माथिल्लो पाखो भित्तो र बारीको काँन्लामा रहेका बोटमा लटरम्म छन् । यिनै स्थानीयस्तरमा उत्पादित फलको बजार यहाँ लागेको हो । मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग निर्माण भएसँगै बिपी राजमार्गमा सवारीसाधनको आवत–जावत बढेको छ । राजमार्ग र राजमार्गलाई जोड्ने भित्री सडकहरू सञ्चालनमा आउनुअघिसम्म बोटमै खेर जाने मौसमी फलफूलले अहिले आम्दानी दिन थालेको सुनकोशी गाउँपालिका ३ का गोविन्द श्रेष्ठले वताउनु भयो ।
उहाँ अनुसार कुहिएर सकिने मौसमी फलफूल र तरकारीहरूले अहिले राम्रो भाउ पाउन थालेका हुन् । “पहिला यहाँ फल्ने आँटी र अम्बा चराचुरुंगीले खान्थे । मान्छेले खाएर सकिँदैन थियो । कुहिएर जान्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त राम्रो मूल्यमा बिक्री हुन्छ ।”
सुनकोशी गाउँपालिका ४ का किसान चन्द्रबहादुर मगर राजमार्ग छेउमा बसेर आँटी र अम्बा बेच्दै गरेको अवस्थामा भेटिनुभयो । राजमार्ग अवस्थित बोहोरेटारमा भेटिनुभएका उहाँ पहिले त्यसै कुहिएर जाने अम्बा, आँटी, कागतीलगायतका अन्य मौमसी तथा बेमौसमी फलफूल र तरकारीले बजार पाएको बताउनुहुन्छ । “पहिले कुहिएर जान्थ्यो । अहिले राम्रोसँग पाक्न नपाई यसरी बेच्न ल्याउँछन् । उनका अनुसार राजमार्ग सञ्चालन हुनुअघि यहाँको उत्पादनले बजारको मुख देख्न पाउँदैन थियो । अहिले गाउँमै बिक्री भइरहेको छ । अहिले आट प्रतिकिलो एक सयदेखि दुई सयसम्ममा बिक्री भइरहेको छ ।”
यस क्षेत्रका किसानहरूले मौसमअनुसारका स्थानीय फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आँट र अम्बाको सिजन सकिएलगत्तै जुनार, सुन्तला, कागतीको बजार सुरु हुने स्थानीय किसान बताउँछन् ।
कमलामाई नगरपालिका ढुंग्रेभञ्ज्याङकी तिलमाया लिम्बूले अहिले सेल्फी डाँडामा जुनारको जुस, आँटी, भुइँकटहर, अकबरे खुर्सानी, खुर्सानीको अचार, काँक्रो बेच्न राख्नुभएको छ । उहाँका अनुसार राजमार्गका यात्रु सबैले जिल्लाको स्थानीय उत्पादन नै खोज्छन् । मौसमी फलफूलमात्रै होइन, तरकारी पनि राम्रो बिक्री भइरहेको छ । पहिला घरमा बसेरै दिन बित्थ्यो । व्यापार गर्न थालेदेखि मासिक झण्डै ३० हजार कमाउने गरेको उहाँले वताउनु भयो ।
गाउँ गाउँमा सडकको पहुँच पुगेसँगै स्थानीय उत्पादनले बजार पाएका छन् । सडकको विस्तारसँगै तरकारी फलफूललगायतका स्थानीय उत्पादनहरू बिक्री गर्न पाएपछि स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्न सहज भएको छ ।