सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरे र बाघमाराका किसानहरूले व्यवसायीक भुइँकटहर खेतीबाट लाखै आम्दानी गरिरहेका छन् । कोदो र मकै फल्ने बारीमा अहिले किसानहरूले व्यवसायीक रुपमा भुइँकटहर रोपेका हुन् ।
कोदो, मकै लगायतका अन्नबाली भन्दा राम्रो उत्पादन कटहरबाट भएको भन्दै करकरे र बाघमाराका किसान कटहर खेतीमा आर्कषित भएको बताउँछन् । पहिले एकादुई जनाले आँफुलाई खानलाई मात्र रोपेको कटहर अहिले भने प्रत्येक किसानले ५ कठ्ठा भन्दा बढी जमिनमा रोपेका छन् । कटहरको एक सिजनमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका किसान बताउँछन् ।
बाघमाराका स्थानीय शेर बहादुर तामाङ्गको २०५३ सालमा आफ्नो बाँझो जमिनमा खानको लागि रोपेको कटहर अहिले जीविकोपार्जनका लागि साहारा बनेको छ । उहाँले अहिले १५ कठ्ठा भन्दा वढी जमिनमा कटहर रोप्नु भएको छ । “पहिले एकदुइ बोट खानको लागि कटहर लगाएको थियो । अरु फलफुल भन्दा कटहरबाट रामै आम्दानी होला जस्तो लाग्यो ” उहाँले भन्नुभयो “पछि कटहर खेती गर्न थाले । कोदो, मकैहरु भन्दा राम्रो आम्दानी कटहर बाटै भयो,।”
उहाँले भुइँकटहरबाटै वार्षिक रुपमा २ देखि ३ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो । “धेरै मेहनत पनि गर्नु पर्दैन, वर्षमा २ पटक गोडमेल गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “दानाको ६० रुपैयाँदेखि ७० रुपैयाँसम्मा बिक्री हुन्छ । बजारको पनि केही समस्या छैन ।” लोकल र हाईब्रेड दुवै थरी कटहर रोपेका उहाँको ग्राहकले भने लोकल कटहर नै रुचाउछन् ।
घरै अगाढीको बाटोहुँदै सवारी आवत–जावत गर्ने भएकाले पनि बिक्री नहोला भन्ने कुनै चिन्ता छैन । घरैबाट उहाँले अहिले लोकल सानो दानाको ६०, ठुलोको ७० र हाईब्रेड कटर सय रुपैयाँमा बिक्री गरिरहनु भएको छ ।