शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्ने काम प्रभावित

शनिवार , श्रावण ७, २०७९

सिन्धुली – चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले तोकिएको समयभित्रै टनेल बोरिङ मेसिन (टिबिएम) ल्याउन नसक्दा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको छ । निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो ।

आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मे मा ठेक्का सम्झौता भएको थियो । विदेशी कम्पनीले समयमै टिबीएम मेसिन आपूर्ति गर्न नसक्दा सुनकोशी मरिण आयोजनाको सुरुङ खन्ने काम प्रभावित हुँदै आइरहेको छ । महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले तोकिएको समयभित्रै आवश्यक डिजाइन नहुँदा पनि टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएको जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी रवि शाक्यले ठेकेदार कम्पनीले तोकिएको समयसीमाभित्रै विदेशबाट सुरुङ खन्ने टिबिएम मेसिन भित्र्याउन नसक्दा सुरुङ खन्ने काम प्रभावित भएको बताउनु भयो । “कोभिड १९को कारणले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै सुरुङ खन्ने टिबिएम मेसिन भित्र्याउन सकेनन,” उहाँले भन्नु भयो,“हालसालै सुरुङ खन्ने टिबिएम भित्रिएर अहिले मेसिन जडानको काम भइरहेको छ । सम्भवत् साउन र भदौं महिनाभित्रै मेसिन जडान गर्ने गरिसक्ने लक्ष्य राखेका छौं ।”

आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्यअभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो । यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ । ठेकेदार कम्पनीले सुरुङ खन्नका लागि आवश्यक पर्ने उपकरण र सामग्री समय भित्रै जडान गर्न नसक्दा तोकिएको समयभित्रै सुरुङ खन्ने काम सकिनेमा भने आशंका कायमै छ ।

आयोजनाका सूचना अधिकारी शाक्यले आयोजनाको समष्टिगत भौतिक प्रगति ७.६ प्रतिशत भएको जानकारी दिनु भयो । त्यसैगरी आयोजनाको हालसम्म तीन अर्ब रूपैयाँ खर्च भएको छ । आयोजनाको हालसम्मको वित्तीय प्रगति ७.७५ प्रतिशत भएको जनाएको छ । जबकि आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको अवधिमा यो आयोजनाको भौतिक प्रगति ३.५ प्रतिशत भएको थियो ।

सो अवधिमा आयोजनाको समष्टिगत खर्च भने डेढ अर्ब रूपैयाँ भएको थियो । आयोजनाको एक वर्षको अवधिमा ३.५ मात्रै समष्टिगत भौतिक प्रगति गरेको छ । सिन्धुलीस्थित मरिण खोलामा खसाइ रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा ३१ मेगावाट विद्युत् उत्पादनसमेत गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो ।

मन्त्रिपरिषद्को २०७६ माघ ६ गते बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो। आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रूपैयाँ रहेको छ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएकाले सुरुङमार्ग निर्माणको समय र लागत बढ्ने हुँदा सम्झौताअनुसारको अवधिमा टनेल निर्माण कार्य सम्पन्न गर्न आयोजना व्यवस्थापनको ध्यान दिनुपर्ने औंल्याएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गर्नु भएको थियो । आयोजनाको प्याकेज दुईमा हेडवक्र्स, पावरहाउस, सर्टसाफ्ट, विपी राजमार्ग मध्ये एक किलोमिटर सडक लगायतका पूर्वाधार निर्माणको लागि ठेकेदार कम्पनीको पूर्व योग्यता छनोटको काम भइरहेको जनाएको छ ।

आयोजनाले आगामी पुस महिनासम्म योग्य ठेकेदार कम्पनीको छनोट गर्ने समयसीमा तोकेको छ । यसमा ठेकेदार कम्पनीको प्राविधिक मूल्यांकन मात्रै गरिन्छ । प्राविधिक मूल्यांकनमा छनोट भएका कम्पनीमध्येबाट आर्थिक प्रस्तावमा छनिएको कम्पनीले मात्रै ठेक्का हात पार्नेछ । आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका पूर्वाधार निर्माणका लागि २५ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

आयोजनाले यो परियोजना निर्माणको क्रममा अघिल्लो आवमा २२ करोड रूपैयाँ खर्च गरेको थियो। गत आवमा भने थप २५ करोड रूपैयाँ मुआब्जामा खर्च भयो । चालु आर्थिक वर्षमा भने मुआब्जाबापत थप २५ करोड रूपैयाँ खर्च हुने आयोजनाको अनुमान छ ।

प्रतिक्रिया