सिन्धुली, – कमलामाई नगरपालिका–२ भद्रकाली निवासी किसान बिष्णुलाल गौतम रासायनिक मल खोज्दै सोमबार जिल्ला सदरमुकाम सिन्धुलीमाढी आई पुग्नु भएको छ ।
मकैबाली भिœयाएर रोपाई गर्ने तयारीमा जुट्नु भएका किसान गौतम रोपाईमा रासायनिक मल हाल्न पाईन्छ की भनेर उक्त मल खोज्दै सदरमुकाम झरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो भएको १० कठ्ठा खेतमा रोपाई गर्ने तयारी गरेको छु । रासायनिक मल मकैबालीमा त हाल्न पाईन, रोपाँईमा हाल्न पाईन्छकी भनेर आएको हुँ । तर कतै पाईन ।”
रासायनिक मल खोज्दै कृषि सामाग्री कम्पनिको कार्यालयमा जाँदा फागुनदेखि नै उक्त मल नआएको आफुले जवाफ पाएको उहाँले गुनासो गर्नुभयो । किसान गौतम त उक्त मल नपाउने उदाहरणको पात्र मात्र हुनुहुन्छ । सिन्धुली जिल्लामा रोपाई गर्न व्यस्त किसान सिजनमा पनि रासायनिक मल नपाउदा किसान निरास बनेका छन् ।
कृषि सामग्री कम्पनीले स्थानीय कृषि सहकारी संस्थामार्फत किसानलाई मल बिक्री गर्ने व्यवस्था मिलाए पनि सिन्धुली जिल्लामा पाँच महिनाभन्दा बढी समयदेखि नै मलको अभाव रहेको उक्त कम्पनिले जनाएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले पनि सिन्धुली, रामेछाप र दोलखा जिल्लामा रासायनिक मल बितरण गर्ने जिम्मेवारी पाएपनि अभावमा पु¥याउन सकेको छैन ।
उक्त कम्पनिका प्रमुख नबराज महत फागुन महिनादेखि नै रासायनिक मल नआएर गोदाम खाली रहेको गुनासो गर्नु हुन्छ । उहाँका अनुसार जिल्लामा यो बर्ष हालसम्म युरिया एक हजार ७२० दशमलब ६५० मेट्रिक्टन, डिएपी ५९४ दशमलब सात मेट्रिक्टन, पोटास ३८ मेट्रिक्टन तीन मेट्रिक्टन तीन जिल्लामा बिक्रि भएको छ । यो बर्ष युरिया दुई हजार मेट्रिक्टन, डिएपी एक हजार मेट्रिक्टन, पोटास १०५ मेट्रिक्टन र कृषि चुन २१ मेट्रिक्टन बिक्री गर्ने बार्षिक स्वीकृत लक्ष्य थियो ।
“रासायनिक मलको अभाव यहाँ मात्र हैन, यतिखेर देशभरिकै समस्या बनेको छ,” उहाँले भन्नुभयो, “मल बिक्री गर्ने सहकारी दैनिक जसो आई रहेका छन् । गोदाम नै खाली छ, कताबाट दिनु । सिन्धुली, रामेछाप र दोलखा जिल्लामा गरी १६२ वटा सहकारीले उक्त मल बिक्री गर्दै आएका छन् । कुल आपुर्तिको ५०देखि ६० प्रतिशत सिन्धुली जिल्लामा र बाँकी अरु दुई जिल्लामा बिक्री हुदै आएको छ ।”
कृषि सामग्री कम्पनिको गोदमा यतिखेर ३८ मेट्रिक्टन पोटास मात्रै मौज्दात रहेको उहाँले सुनाउनुभयो । उक्त कम्पनीले मल बिक्रेता सूचीमा दर्ता प्रमाणपत्र भएको, सम्बन्धित वडाको सिफारिस, मल मागको बैठक निर्णयको आधारमा स्थानीय कृषि सहकारी संस्थालाई सुलभ मूल्यमा रासायनिक मल बिक्रि बितरण गर्दै आएको जनाएको छ ।
गोलान्जोर गाँउपालिका–१ स्थित डुडभञ्ज्याङ कृषि सहकारी संस्थाका बिक्रेता सोमनारायण मानन्धर रासायनिक मलको निकै हाहाकार नै भएको बताउनुहुन्छ । उहाँका अनुसार यतिखेर गाँउमा रोपाईमा हाल्न रासायनिक मलको माग बढ्दो छ ।