सिन्धुली,– सात बर्षअघि विदेशबाट फर्किनु भएका हरिहरपुरगढी गाँउपालिका–२ बख्फर निवासी किसान खिन्चलाल पहरी अहिले घरमै बसेर एक बिगाहा जमिनमा तरकारी खेती गर्दै आउनु भएको छ ।
किसान पहरीको खेतमा सिजन अनुसार टमाटर, खुर्सानी, लौका, काउली र बन्दा लगायतको तरकारी मनग्य फल्ने गरेको छ । उत्पादित तरकारी गाँउघर र नजिकैको चैनपुर बजारमा बिक्री हुदै आएको उहाँले बताउनुभयो ।
विदेश गएर मोटो रकम कमाउने सपना बोकेर किसान पहरी सात बर्षअघि ईराक र मलेसिया पनि जानु भयो । तर सोचे जस्तो कमाई नहुने तर दुःख बढी भएपछि १८ महिनामा नै स्वदेश फर्किनु भयो । विदेश गएको ऋण तिर्ने पैसा कमाएपछि आफ्नै देश फर्किएर उद्यम सम्बन्धि सिप सिकेर तरकारी खेती र बंगुरपालन व्यवसाय सुरु गरेको उहाँको भनाई छ ।
झण्डै दुई बर्षअघि उद्यम व्यवसाय अन्तर्गत तरकारी खेती सम्बन्धि सात दिने तालिम पाएपछि अहिले आफ्नो दैनिकी फेरिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सहकार्य नेपालले तरकारी खेती सम्बन्धि तालिम दिएपछि फुर्सदिलो जीवन अहिले व्यस्त बनेको छ । तालिमपछि सुरु गरेको तरकारी खेतीबाट एक सिजनमै ५० हजार रुपियाँ आम्दानी लिन सफल भए ।”
मरिण गाँउपालिका–४ कल्पबृक्ष निवासी किसान मिना लाखे पनि यतिखेर अचार उद्यमी बन्नु भएको छ । गत बर्ष अचार उत्पादन सम्बन्धि लेबलिङ र प्याकेजिङ सम्बन्धि तीन दिने तालिम पाएपछि आफु पनि अचार उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । “उत्पादन भएको अचार गाँउ घरमा नै थोरै–थोरै बिक्री हुदै आएको छ,” उहाँले भन्नुभयो, “बजारीकरणकै अभावमा धेरै अचार उत्पादन गर्न सकेको छैन ।”
अचार उत्पादनबाट आफुले सामान्य आम्दानी लिदै आएको भएपनि बजारकै अभावमा सोचेजति अचार उत्पादन गर्न नसकेको उहाँको गुनासो छ ।
मरिण गाँउपालिकाको वडा नं. ३ र ४ तथा हरिहरपुरगढी गाँउपालिकाको वडा नं. २, ३, ४ र ५ मा २०७४ सालदेखि फिल्याण्ड सरकार (एफसिए)को सहयोगमा विपन्न समुदायका लागि आर्थिक तथा सामाजिक विकास परियोजना सञ्चालन भएपछि यहाका अधिकांस व्यक्ति उद्यमी भई सकेका छन् । उनीहरुलाई माग आधारित विभिन्न किसिमका सिप र ज्ञान सिकाई उद्यमी बनाईएको सहयोगी संस्था सहकार्य नेपालले जनाएको छ ।
उक्त संस्थाका अनुसार ती उद्यमीलाई अचार उत्पादन, बाँसजन्य सामग्री बनाउने, माछा पालन, कृष्टलको गहना बनाउने, दुनाटपरी बनाउने, मौसमी तथा बेमौसमी तरकारी खेती, हाउस वायरिङ, सिलाईकटाई, खाद्य प्रशोधन र पसल व्यवस्थापन लगायतका सिप प्रदान गरिएको छ । ‘सिप सिकेका मध्ये ८६ जना प्रत्यक्ष उद्यम व्यवसायमा संलग्नमा छन्, भर्खरै तालिम सकेका अरु ५२ जना पनि व्यवसाय गर्ने तयारीमा छन्,’ संस्था अध्यक्ष खेटराज अधिकारीले भन्नुभयो, “ती उद्यमीहरु तीन वटा लघुउद्यम सहकारी संस्थामा आबद्ध छन् ।”
लघुउद्यममा संलग्न उद्यमीहरुलाई उनीहरुले गरेको व्यवसाय अनुसार हातेट्रयाक्टर, पानी तान्ने पम्प, टनेल, सिलाई कटाई मेसिन, मिल, तरकारीको बिउ सहित सहकारीलाई छ लाख रुपियाका दरले बिउ पूँजी, फर्निचर, स्टेशनरी सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।