बीपी राजमार्गका कारण होटल हब बन्दै गरेको सिन्धुलीको मुलकोट बजार
खनियाखर्क (सिन्धुली),– कुनै बेला होटल नै देख्न मुस्किल पर्ने गोलन्जोर गाँउपालिका–५ रतनचुरास्थित खनियाखर्क यतिखेर होटलले भरिदै गएको छ ।
सोही ठाँउ हुदै जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्गका कारण आम्दानीको राम्रो संभावना बढेपछि खनियाखर्कमा होटल व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ । खनियाखर्कमा होटल व्यवसाय गर्दै आउनु भएका व्यवसायी ताराबहादुर मगर खनियाखर्कमा होटल व्यवसाय गर्नेको संख्या बढ्दै गएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कमार्ई पनि राम्रै छ, रोजगारी पनि पाईएको छ । एक दक अघि मैलै होटल सुरु गर्दा यहाँ अरु कुनै पनि होटल थिएनन् । अहिले एक दर्जनभन्दा बढी होटल खुली सके । आम्दानीको राम्रो संभावना देखेर नै बीपी राजमार्गले छोएका खनियाखर्क जस्तै ग्रामीण गाँउहरु होटल व्यवसायले भरिदै गएका छन् ।”
नजिकै ऐतिहासिक सिन्धुलीगढी रहेकाले त्यहाँ आउने आन्तरिक पर्यटक तथा बसका यात्रुबाट नै खनियाखर्कको होटल व्यवसाय धानेको उहाँको भनाई छ ।
बीपी राजमार्गकै कारण चियारबारी, सोलाभन्ज्याङ, खुर्कोट, खाल्टे, चैनपुर, मुलकोट, झागाझोली रातमाटा, नेपालथोक लगायतका ग्रामीण ठाँउहरु यतिखेर होटलले भरिदै गएको स्थानीय बासिन्दा बताउछन् । चियाबारी निवासी सन्तोषकाजी थापा बीपी राजमार्ग निर्माणले उक्त ठाँउको स्वरुप नै फेरिएको बताउनुहुन्छ ।
“पहिले होटलको अभावमा भनेको समयमा एक कप चिया पनि खान पाईदैनथ्यो । अहिले के खाने ? होटलले भरिभराउ छ !” उहाँले भन्नुभयो, “चियाबारी आउने जो कोही पनि चियाबारीको पहिलेको र अहिलेको अवस्था देखेर अचम्म पर्ने गरेका छन् ।” चियाबारीमा राजधानी काठमाडौँ जाने र आउने पाँच सय भन्दा बढी यात्रुबाहक सबारी साधनले अहिले खाना खुवाउने ठाँउ बनेको होटल व्यवसायि समेत रहनु भएका थापाले सुनाउनुभयो ।
त्यस्तै सुनकोसी गाँउपालिका–२ झाँगाझोली रातमाटा निवासी सन्तोषकुमार बम्ले पनि २६ लाख रुपैया लगानी गरि होटल व्यवसाय सुरु गर्नु भएको छ । आठ आना जमिन भाडामा लिएर होटल व्यवसाय सुरु गरेको उहाँ बताउनुहन्छ । “बर्षको २४ हजार रुपैया भाडा तीर्ने गरी आफैले २६ लाख रुपैया लगानी गरी होटल व्यवसाय सुरु गरेको छु,” उहाँले थप्नुभयो ।
“सन साईन फुड क्याफे’ नाम दिएर सञ्चालन गरेको उक्त होटलमा अरु सात जनाले पनि रोजगार पाएका छन् । ‘कम्तिमा मासिक छ हजार रुपैयादेखि १३ हजार रुपैयासम्म तलब दिएर काम गर्न यी मानिस राखेको छु,’ होटल व्यवसायि बम्ले भन्नुभयो, ‘होटल व्यवसाय भर्खरै सुरु गरेको हुँ, कमार्ई पनि सन्तोजनक नै छ । ठिक्क चलेको छ ।”
राजमार्गमा गुड्ने बस, बोलेरो जीप, मोटर साईकल लगायतका सबारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी नै ती होटलहरु खुलेका स्थानीय बासिन्दा बताउछन् । सुनकोसी नदीको किनार हुदै बीपी राजमार्ग निर्माण भएकोले होटलमा आउने ग्राहकहरुको पहिलो रोजाईमा पनि सुनकोशीको माछा नै पर्ने गरेको स्थानीयको भनाई छ ।