शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली जिल्लामै पहिलो पटक जखौलीमा खरबुजा खेती

बुधवार , जेठ १८, २०७९

सिन्धुली,– हरिहरपुरगढी गाँउपालिका–२ जखौली निवासी किसान सुकदेव राईलाई यतिखेर खरबुजा बिक्री गर्न भ्याई नभ्याई छ । गाँउपालिकाको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत यो बर्ष फागुनदेखि गरेको सामूहिक खरबुजा खेतीले उत्पादन दिन सुरु गरेपछि बिक्री गर्न भ्याई नभ्याई भएको उहाँले सुनाउनुभयो ।

त्यसो त सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–२ जखौलीमा जिल्लामै पहिलो पटक यो बर्षदेखि खरबुजा खेती सुरु गरिएको हो । किसान राईले भन्नुभयो, “चार जना किसान मिलेर चार बिगाहा जति बगरमा फागुनदेखि सामूहिक रुपमा खरबुजा खेती सुरु गरेका थियौं । आठ क्वीन्टल जति बिक्री गरि सक्यौ, अझै २० क्वीन्टरजति बिक्री गर्न बाँकी छ ।”

प्रति किला ५० रुपियाका दरले गाँउघरमा नै बिक्री भई रहेको र जखौलीमा उत्पादन भएको उक्त खरबुजा जिल्ला सदरमुकाम सिन्धुलीमाढी र काठमाडाँैसम्म बिक्री गर्न पठाउने गरेको उहाँले जानकारी दिनुभयो । पहिलो पटक गरेको खरबुजा खेतीबाट आम्दानी राम्रो लिन पाएपछि खेतीमा संलग्न किसानहरु हौसिएका छन् ।

खेतीमै संलग्न अर्का किसान आईते राईले भन्नुभयो, “हाम्रो लागि नौलो र नयाँ खेती भएकाले के हुने हो भन्ने त्रास पनि थियो । जे भएपनि राम्रो फल्यो, खुशी लागेको छ ।” खरबुजा खेती गर्नु अघि गाँउपालिकाले तीन दिन तालिम दिएको र रोप्ने बेलामा पनि प्राविधिकले दुई दिनजति खेती गर्ने तरिका सिकाएकोले खेती गर्न सजिलो भएको उहाँको भनाई छ ।

दुई केजीसम्मको खरबुजा फलाउन सफल भएको किसान राईले बताउनुभयो । उहाँले भन्नुभयो, “धान, मकै राम्रोसँग नफल्ने बगरमा गरेको खरबुजा खेतीले राम्रो आम्दानी दिएकाले उत्साहित छ । अर्को बर्षपनि खरबुजा खेती गरौं भन्नेर सल्लाह गर्दैछौं ।”

खर्बुजा खेति गर्नको लागि आवश्यक तालिम, मल, बिउ, प्रविधि, औषधी लगातको सबै व्यवस्था गाउँपालिकाले गरि दिएको गाँउपालिकाका आर्थिक बिकास शाखा प्रमुख दिपक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार बिगाहा जमिनमा दुई जातको खर्बुजा लगाइएको र रोपेको ७२ दिनमा बजारसम्म पु¥याउनु पर्ने गरि उत्पादन भएको छ । अहिले परिक्षणका लागि खर्बुजा खेति गरेको भएपनि बगर क्षेत्रमा राम्रो उत्पादन भएकाले उक्त खेतिलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया