शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा जनशक्ति अभावका कारण खेतीयोग्य जमिन बाँझिदै

बुधवार , जेठ ११, २०७९

सिन्धुली– सिन्धुलीमा जनशक्ति अभावको कारण खेतियोग्य जमिन बाँझिदै गएको छ । स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा जिल्लाको ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको हो ।

स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि जान बाध्य छन् ।

युवा विदेशिने र सहर पलायन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवाविहीन हुने गरेका कमलामाई नगरपालिका ४ कि ७२ वर्षिय मनमायाँ लामिछानेले बताउनुभयो । गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

यहाँका बासिन्दाले आफ्नै जग्गा जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । “सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थाले, ” सुनकोशी गाउँपालिका ५ का नर बहादुर थापाले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले भन्नुभयो । वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् ।

एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्ने क्रम उत्तिकै बढेको छ । खेतीयोग्य जमिन बाँझो हुन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा स्थानीय परेका छन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ । “खेतबारीमा बनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चामल र खाद्यान्न किनेर खाने गरेका छन् ”, कमलामाई नगरपालिकाका कृषि प्राविधिक लिला नाथ देवकोटाले भन्नुभयो ।

कृषि प्राविधिक देवकोटाका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । धान उत्पादन हुने ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि अनुदान दिने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन । पछिल्लो समय जिल्ला मालपोत कार्यालय सिन्धुलीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय सिन्धुलीका प्रवक्ता पुरुषोतम दाहालले बताउनुभयो ।

प्रतिक्रिया