शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

टिकटकमा भाइरल सिन्धुलीका ‘तरकारी ब्वाइ’ कृष्ण

बिहिवार , चैत्र १७, २०७८

सिन्धुली­ - सिन्धुलीको दुधौली नगरपालिका धनसरिका कृष्ण अधिकारी तरकारी व्यापारबाट मनग्य आम्दानी लिरहनुभएको छ । उमेरले भर्खर २३ वर्ष लाग्नुभएको अधिकारी तरकारी व्यापारबाट काठमाडौँमा घर र गाडि समेट जोड्न सफल हुनुभएको छ । उहाँ सामान्य तरकारी व्यापारी हुनुहुन्छ । तर, उहाँको व्यापार र कमाइ भने निकै लोभ लाग्दो रहेको छ । उहाँले तरकारी बेचेरै आकर्षक कमाइ गरिरहनुभएको छ । अधिकारीले हाल दैनिक ९० हजारदेखि १ लाख रुपैयाँसम्मको तरकारी बेच्नु हुन्छ ।

लगातारको मेहनतले उहाँले छोटै समयमै काठमाडौंमा घर र गाडी समेत जोड्न सफल हुनुभएको छ । नेपालमै काम गरेर केही हुँदैन भन्ने युवाहरुको बीच कृष्ण उदाहरणीय र सफल व्यक्ति समेत बन्नुभएको छ । सामान्य आर्थिक अवस्था भएका अधिकारी आफ्नो दैनिक जीवन गुर्जानकै लागि ४ वर्ष अघि काठमाडौं जानुभयो । तर काठमाडौंको जीवन हामीले सोचे जस्तो पक्कै थिएन । सुरूआतमा के खाने, के गर्ने भन्ने समस्या भयो । उहाँले काम नगरी खान नपाइने बुझेर कामको लागि धेरैतिर भौँतारिनुभयो । कतै जागिर पाउनुभएन । त्यसपछि आफैं व्यापारी बन्नुभयो ।

उहाँको व्यापार यात्रा भने डोकोको सागबाट भएको हो । “काठमाडौं आएपछि काम नगरी खान पाइँदैन भनेर धेरै कामको खोजीमा भौँतारिएँ । तर, कतै काम पाइएन, पछि साग बेच्नेहरूले नै मूलपानीबाट ल्याएर साग बेच्नु भन्नु भयो, त्यसपछि डोकोमा साग बेच्न थाले ,” कृष्ण भन्नुहुन्छ । सुरूआतमा डोकोमा बोकेर साग बेच्न गाह्रो भएपछि भने सटरमा तरकारी बेच्न थालेको अधिकारी बताउनहुन्छ ।

उहाँको तरकारी पसल चाबहिलस्थित गणेश स्थान मन्दिरको पश्चिम गेट नजिकै छ । उहाँले सटर भाडाबापत मासिक ५० हजार रुपैयाँ तिर्ने गर्नुभएको छ । व्यापार गर्न थालेको छोटो समयमै सफलता हात पार्न सफल भएका कृष्ण काठमाडौंको व्यापार अचम्मै रहको बताउनुहन्छ । काठमाडौंमा विक्री नहुने कुनै वस्तु नभएको उहाँको अनुभव छ । “खेती योग्य जमिनको अभावको कारण उपत्यकामा कमै मात्र वस्तु उत्पादन हुन्छ । अधिकांश वस्तु बाहरबाटै ल्याउनुपर्छ । तर, जे वस्तु ल्याए पनि बिक्छ , काठमाडौंमा विक्री नहुने कुनै वस्तु छैन, जे ल्याए पनि एकछिनमा सकिन्छ ,” उहाँले भन्नुभयो ।

अधिकारी तरकारी मात्र नभई मौसमी (सिजनएबल) वस्तु पनि विक्री गर्नुहुन्छ । तरकारीभन्दा सिजनएबल वस्तु बेच्दा धेरै फाइदा हुने उहाँको व्यापार अनुभव छ । गत ठूली एकादशी र तिहारको सम्झना गर्दै कृष्ण भन्नुहुन्छ, “तिहारमा काभ्रेको पाँचखालबाट २ हजारको एक ट्रक रातो माटो र ठूली एकादशीमा भक्तपुरबाट सित्तैमा बाँसको झिक्रा ल्याएको थिएँ । बाँस मैलै सित्तैमा (गाडी भाडा १ हजार मात्र तिरेर) ल्याएको थिएँ । यी दुवैैको व्यापारबाट मैलै लाख रुपैयाँसम्म कमाएँ ।”

उहाँले विभिन्न चाडपर्व र सिजन अनुसार फलफूल र अन्य वस्तु पनि बेच्ने गर्नुहुन्छ । सामान्य एउटा सटरमा तरकारी बेच्ने उहाँ सामाजिक संजाल टिकटकमा भाइरल हुनुहुन्छ । उहाँलाई टिकटकमा तरकारी ब्वाईको नामले समेत चिनिन्छ । उहाँ सुरूमा तरकारी बेच्दाको एउटा भिडियोबाट भाइरल हुनुभएको हो । “टिकटककै कारण भाइरल हुन्छु भन्ने थिएन, तर आउनुस्, आउनुस् सस्तोमा दिन्छु मेरो के जान्छ,’ भनेर तरकारी बेचेको भिडियो भाइरल बन्यो, त्यसपछि सबैले मलाई भाइरल तरकारीवाला दाई भाई भनेर चिन्न थाल्नु भयो ,” उहाँले भन्नुभयो । उहाँले रहेक दिन टिकटकमा आफ्नो पसलको भिडियो पोष्ट गर्नुहुन्छ । उहाँको मेहनत र सफलतामा रमाउँनेहरू उत्तिकै छन् ।

अधिकारीलाई टिकटकमा ८३ हजार बढीले फलो गरेका छन् भने उहाँको भिडियोलाई १० लाखभन्दा बढीले हेरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको कारण धेरै मान्छेलाई समस्या हुने गरको भएता पनि कृष्ण आफूलाई भने अहिलेसम्म फाइदा भएको बताउनुहुन्छ । “सामाजिक सञ्जालले धेरैलाई नराम्रो गरेको पनि देखिन्छ । तर मलाई अहिलेसम्म राम्रो भएको छ, टिकटककै कारण मेरो व्यापार बढेको छ , तपाईंको टिकटक हेरेर आएको म भन्ने धेरै हुनुहुन्छ ,” उहाँले भन्नुभयो ।

आफूलार्ई टिकटकमै देखेर मानिसहरू उपत्यका बाहिरबाट पनि तरकारी किन्न आउने गरेको उहाँ बताउनुहुनछ । “काठमाडौंबाटै फलोअर्स आउँदा त्यस्तो केही लागेन, यता काम परेर आउँदा पस्नु भयो होला भन्ने लाग्थ्यो । तर, ओखलढुंगा र वीरगंजबाट समेत फ्यान आएर ७० हजार सम्मको तरकारी लग्नु भयो । उहाँहरूले बिहेको लागि भनेर तरकारी लग्नु भयो,त्यसपछि भने आफूले ठूलै काम गरेछु भन्ने लाग्छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया