काठमाडौं– नेपाल टेलिकमले अल नेट भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने सस्तो मुल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।
टेलिकमले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित सस्तो मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो ।
नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५ सय ५० रुपैयाँ उपल्ध गराएको थियो ।
यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँ मा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुन टेलिकमले जनाएको छ ।
५ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको टेलिकमले जनाएको छ ।
अब ५सय ९९ रुपैयाँ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने टेलिकमले जनाएको छ । साथै ७ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था टेलिकमले जनाएको छ ।
यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिने टेलिकमले जनाएको छ । ९ सय ९९ रुपैयाँ र १ हजार ४सय ९९ रुपैयाँ प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुने टेकिलमले जनाएको छ ।
त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने टेलिकलमे जनाएको छ । नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।