कति वर्षकी हुनुभयो आमा ? प्रायः वेसारे गाउँ पुग्नेले उहाँलाइ नसोधेको हुँदैन् । हालखवर सोधेर नजिककिने सबैले सुनकोशी गाउँपालिका १ गोशस्थान वेसारेकी चारवीस पुगेकी सुकमायाँ मगरलाइ उमेरको बारेमा जिज्ञासा राख्ने गर्दछन् । उहाँले सबैलाइ एउटै जबाफ फर्काउने गर्नु भएको छ, मलाइ थाहा छैन् । सरकारले सामाजिक सुरक्षा बापत दिएको भत्ता लिनका लागि बनाएको परिचयपत्र नै उहाँको उमेर खुलाउने प्रमाण बनेको छ । उहाँले नागरिकता पनि त्यहि सामाजिक सुरक्षा भत्ता लिनकै लागि बनाउनु भएको थियो ।
छोराले लगेर अव भत्ता लिने बेला भयो, नागरिकता बनाउनु पर्छ भनेर लगेको हो । नागरिकता बनेपछि भत्ता पनि पाइयो उहाँले सुनाउनु भयो । श्रीमानको नागरिकताका आधारमा उहाँको बनेको थियो । जन्मदर्ताको चलन नै थिएन्, कपाल फुलेको र गाला चाउरिएको आधारमा उमेर राखेको भन्दै सुकमाँया खित्का छोडेर हाँस्नु भयो । भत्ता लिनलाइ पुग्ने उमेर राखेर नागरिकता बनाइदिएका रहेछन् उहाँको छोराहरुले । त्यहि नागरिकताका बुढेसकालमा सुकमाया“को लागि पेन्सनपट्टा बनेको छ । नागरिकता घरका अन्य सदस्यहरुले सुरक्षित राखिदिएका हुन्छन् । उहाँहरुको पासमा हुँदैन् ।
सुकमायाँ मात्र हैन् ,बेसारे गणेस्थान गाउँका अलावा जोडिएका घ्याम्पेटार, शिखरपुर, बाँसघारी, चिलाउनेटारका वृद्धवृद्धालाइ कसैलाइ पनि आफ्नो उमेर थाहा छैन् । गणेस्थानका खड्गबहादुर मोक्तानको पनि उमेर सोध्दा चारविस पुग्न लागेको नै बताउँनु हुन्छ । उहाँले भन्नु भयो, “नागरिकताको कामै थिएन्, उमेर जति भएपनि दुःख गरेर खाने नै हो । भत्ता पाउने भएपछि छोराहरुले लगेर नागरिकता बनाइदिए । उमेर पनि उनीहरुले नै राखिदिएका हुन् ।” सन्तान र बुढ्यौली लाग्दै गएको ज्यानलाइ हेरेर सर्जमिन गरि उमेर राखेर नागरिकता बन्ने गरेको छ ।
६ भाइ छोरा र ३ छोरी रहेका खड्गबहादुरका दुवैजनाले सामाजिक सुरक्षा भत्ता लिने गर्नु भएको छ । पहिला नागरिकताको कामै थिएन्, भत्ता आउने भएपछि लगेर बनाइदिए, संगै रहेकी खड्गबहादुरकी श्रीमती सुकमायाँ मोक्तानले थप्नु भयो । उनी मगर म मोक्तान है, घरको पेटीमा रहेका दुइ वृद्धाको नाम सुकमायाँ भएपछि प्रश्न आउनु भन्दा पहिला नै उहाँहरुले प्रष्ट्याउनु भयो । उमेरमा जागिर खान गएको भए नागरिकता चाहिन्थ्यो होला र उमेरको सोधिखोजी हुन्थ्यो होला सुकमायाँ मोक्तानले भन्न भयो, “ विहे गर्दा उमेर सोधेनन्, त्यसपछि घरको काम धन्दा वाहेक अन्त ध्यान गएको होइन् ।” छोराछोरी पाउने र घरको धन्दा गर्दैमा जुनी बित्न लागेको भन्दै उहाँले सुस्केरा हाल्नु भयो ।
अहिले जस्तो जन्मदिन मनाउने चलन थिएन् । चिना बनाउने धेरै परेको कुरा भयो । वयस्क भएर वावुआमालाइ उमेर सोध्दा गाउमा अनिकाल परेको, बाढी गएको, पैरो झरेको लगाएतका वर्षहरुमा जन्मेको भन्ने आउथ्यो । जन्मेको सालसम्म जिनतिन पत्ता लागेपनि गते, महिना र बार भने धेरै परको कुरा हुने अर्का वृद्ध टिकाराम पुलामीले सुनाउनु भयो ।
सामाजिक सुरक्षा भत्ता लिएको १० वर्ष भएकाले उमेर आफैं पत्ता लगाउन उहाँले आग्रह गर्नु भयो । उहाँपनि चारविस पुग्नै लाग्न भएको रहेछ । चार छोरा र दुइ छोरीका वावु टिकारामको गरिखाने चारहलको मेलो छ । खोरिया फाडेर चारहलको मेलो बनाएको छु, उहाँले भन्नुभयो, “ सरकारको छाता ओढ्नेले –(कर्मचारी) भत्ता दिन्छन, दुःखम सुखम चलेकै छ ।” जग्गाको तिरो तिर्न नपर्ने भएकाले पुर्जा नभएको जग्गामा खेती किसानी गर्दै आएका वृद्धवृद्धाको वडाको शिफारिसमा नागरिकता दिएर सामाजिक सुरक्षा भत्ता दिने गरेको सुनकोशी गाउपालिकाका उपाध्यक्ष दिर्वुसिङ मोक्तानले बताउनु भयो ।