सिन्धुली,१९ असोज — गोलन्जोर गाउँपालिका–१, डुढभञ्ज्याङ सल्लेका २२ वर्षीय नारायण श्रेष्ठ नागरिकता र जन्मदर्ता नहुँदा शिक्षा, रोजगारी, बैंकिङ सेवा र सम्पत्तिको स्वामित्वजस्ता आधारभूत अवसरबाट वञ्चित भएका छन् । आमाको समेत नागरिकता नभएको र बाबुको पहिचान स्थापित हुन नसकेपछि उनको नागरिकता प्राप्तिको प्रक्रिया वर्षौंदेखि अन्योलमा छ ।
नारायण २२ वर्षअघि सूर्य माया श्रेष्ठको कोखबाट डुढभञ्ज्याङमै जन्मिएका हुन् । अविवाहित सूर्य मायाले छोरा जन्माएपछि बाबुको पहिचानको विषय गाउँमा उठेको थियो । स्थानीयका अनुसार कम बोल्ने र अरूसँग संवाद गर्न डराउने स्वभावका कारण ‘लाटी’ उपनामले चिनिएकी सूर्य मायाले लामो समय यसबारे स्पष्ट जानकारी दिन सकिनन् ।
गाउँपालिका गठनपछि वडा कार्यालयमा भएको छलफलमा उनले पहिलोपटक गाउँकै एक प्रभावशाली व्यक्तिलाई नारायणको बाबुका रूपमा किटान गरेकी थिइन् । त्यसपछि वडामा थप छलफल अघि बढ्न नसकेपछि निवेदन गाउँपालिकामा पठाइएको थियो । किटान गरिएका व्यक्तिको राजनीतिक संलग्नताका कारण न्याय नपाएको गुनासोसहित केही व्यक्तिको सहयोगमा आमा–छोरा जिल्ला अदालतसम्म पुगेका थिए । त्यतिबेला नारायण १४–१५ वर्षका थिए ।
नारायणका अनुसार मुद्दा दर्तापछि उनीहरू ४–५ पटक अदालत पुगे पनि विपक्षी हाजिर भएनन् । पछि अदालतले तोकेको पेसीबारे आफूहरूलाई जानकारी नदिइएको र आफूहरूको अनुपस्थितिमा विपक्षी उपस्थित भएपछि मुद्दा हारेको उनको भनाइ छ । गाउँदेखि पालिका तहसम्म मिलेमतो भएको र पेसीको सूचनाबाट समेत वञ्चित गरिएको उनको आरोप छ ।
जन्मदर्ता नभए पनि नारायणले गाउँकै विद्यालयमा ढिलो गरी अध्ययन सुरु गरेका थिए । कक्षा ३ सम्म पढेपछि अर्को विद्यालयमा भर्ना हुन जन्मदर्ता मागिएपछि उनको पढाइ रोकियो । त्यसपछि रोजगारी खोज्दै काठमाडौं आएका उनले होटलमा भाँडा माझ्नेदेखि ज्यामीसम्मका काम गरे । तर नियमित रोजगारीका लागि नागरिकता मागिने गरेको उनले बताए । “कसैको घरमा काम गर्न होस् वा कम्पनीमा, सुरुमा नागरिकता मागिने रहेछ । त्यसपछि निराश हुँदै फर्किनुको विकल्प रहेन,” उनले भने ।
विगत २ वर्षदेखि उनी गोलन्जोरकै एक दिदीको काठमाडौंको भृकुटीमण्डपस्थित किराना पसलमा कार्यरत छन् । नागरिकता अभावमा बैंक खाता खोल्न र सरकारी तथा वित्तीय सुविधा लिनसमेत नसकेको उनको भनाइ छ ।
नारायण र उनकी आमाले ६–७ वर्षअघि सिन्धुलीको मरिणस्थित एक होटलमा २ वर्ष काम गरेर तथा पहिलेदेखिको बचत जोडेर गाउँमा ४ रोपनी जग्गा १ लाख रुपैयाँमा किनेका थिए । घरसमेत बनाइए पनि हावाहुरीले २ पटक छानो उडाएपछि त्यहाँ बस्न छाडेका छन् । नागरिकता नभएकै कारण खरिद गरिएको जग्गा अहिलेसम्म उनीहरूको नाममा दर्ता हुन सकेको छैन ।
सूर्य मायाको जन्मस्थान र माइती सोही क्षेत्रमा भए पनि उनका एक दाजुले नागरिकताको सनाखत गर्न नमानेको स्थानीयको भनाइ छ । सनाखत गरेपछि अंशियार बन्न सक्ने आशंकाका कारण उनी पछि हटेको बताइएको छ । माइती पक्षबाट सनाखत भए सूर्य मायाले नागरिकता पाउने र त्यसपछि नारायणलाई आमाको नामबाट नागरिकता लिन सहज हुने जानकार बताउँछन् ।
वडाध्यक्ष सोमप्रसाद बरालले आमा–छोरा नागरिकताबाट वञ्चित रहेको जानकारी आफूलाई भएको र नागरिकता दिलाउन पहल भइरहेको बताए । यद्यपि स्थानीय तहको दोस्रो कार्यकालसमेत सकिन लाग्दा गाउँमै जन्मिएर हुर्किएका व्यक्तिले नागरिकता नपाएको अवस्थाले स्थानीय तहको भूमिकामाथि प्रश्न उठाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका नागरिकता शाखा हेर्ने प्रशासकीय अधिकृत प्रविण कटुवालले माइती हुँदाहुँदै सनाखत गर्न नमिल्ने अवस्था नरहेको बताए । माइती पक्षको सनाखतबाट आमाले नागरिकता पाएपछि छोराले आमाको नामबाट नागरिकता लिन सक्ने उल्लेख गर्दै उनले विषयमा थप छलफल आवश्यक रहेको बताए । माइती पक्षको पहिचान यकिन भए प्रहरीको सहयोगमा समेत सनाखत गराउन सकिने उनको भनाइ छ ।स्रोत : सिन्धुली मंसिर चार