सिन्धुल्, १९ असोज — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिका–२, मुङग्रेमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मरिण गाउँपालिका–७ का करिब ३० वर्षीय समिर मोक्तानको उपचारका क्रममा मृत्यु भएकोबागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमवार जनाएको छ ।
०८३ असोज १४ गते राति ११ः१० बजे मकवानपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख १३५५ नम्बरको ट्रकले सडकमा सुतिरहेका मोक्तानलाई ठक्कर दिएको थियो । ठक्करपछि ट्रक सडकबाट करिब ६÷७ मिटर तल खेतमा पल्टिएको थियो । घटनाबारे ११ः३० बजे इलाका प्रहरी कार्यालय कपिलाकोटमा जानकारी पुगेपछि प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मोक्तानलाई उद्धार गरी कपिलाकोट स्वास्थ्य चौकी पठाएको थियो । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । सुरुमा पहिचान नखुलेका उनको पछि मरिण–७ निवासी समिर मोक्तानका रूपमा पहिचान खुलेको थियो । उनी बोल्न नसक्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।
०८३ असोज १५ गते ००ः५० बजे उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो । त्यहाँ सामान्य उपचारपछि ०३ः२५ बजे न्युरो अस्पताल जनकपुर रेफर गरिएको थियो । उपचारमा उनका भाइ सम्राट मोक्तान संलग्न थिए ।
न्युरो अस्पतालमा उपचार सम्भव नभएको र स्वास्थ्य सुधार नहुने जानकारीपछिआइतवार करिब ०३ः०० बजे उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याई अक्सिजनसहित उपचार गरिएको थियो । अवस्था गम्भीर रहेको जानकारी ०६ः३० बजे प्रहरीले पाएको थियो । सोही दिन १३ः०५ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पोस्टमार्टमपछि १७ः३० बजे शव भाइ सम्राट मोक्तानले बुझेका छन्। ट्रक चालक रामेछाप नगरपालिका–८ निवासी करिब ४३ वर्षीय हिराज लामा र ट्रक इलाका प्रहरी कार्यालय कपिलाकोटको नियन्त्रणमा छन् ।