दाङ, १९ असोज – दाङमा यात्रुबाहक बस र अटो ठोक्किँदा उपचारपछि घर फर्किँदै गरेका माउली हजुरआमा र २ महिनाकी नातिनीको मृत्यु भएको छ । दुर्घटनामा शिशुका बाबुआमासहित ३ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ मजगाउँ चोकमा सोमबार दिउँसो पौने ४ बजेतिर भएको दुर्घटनामा प्युठानको सरूमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमीसरा बराल र उनकी २ महिनाकी नातिनी जेनिसा सोमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक तथा मृतक शिशुका बुवा सरूमारानी गाउँपालिका–५ पाखापानीका ३३ वर्षीय जीतबहादुर पल्ली मगर, उनकी २० वर्षीया श्रीमती संगिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाका अनुसार संगिताको अवस्था गम्भीर छ भने उनका श्रीमान् जीतबहादुरको अवस्था मध्यम छ । दुवैलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । मध्यम अवस्थाका अधिकारीको लमही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटोलाई विपरीत दिशाबाट, अर्थात् भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु.प्र.०२–००१ ख ०१११ नम्बरको यात्रुबाहक बसले मजगाउँ चोकमा ठक्कर दिएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार पूर्वतर्फ गइरहेको ट्रकलाई उछिनेर अटो अगाडि बढ्न खोज्दा पूर्वबाट तीव्र गतिमा लमहीतर्फ आइरहेको बससँग ठोक्किएको थियो ।
प्रहरीका अनुसार परिवार छोरीको उपचारका लागि प्युठानबाट दाङ आएको थियो। उपचार सकेर लमही बजार हुँदै प्युठान फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।