मंगलवार, आश्विन २० गते २०८३

Tuesday 6th October 2026

राजधानीमा एकैदिन दुई अभियान  घोषणा

सोमवार , आश्विन १९, २०८३


काठमाडौँ,१९ असोज – राजधानीमा सोमबार एकैदिन दुई छुट्टाछुट्टै अभियान घोषणा भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ सार्वजनिक गरिएको छ भने पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरूको पहलमा ‘नागरिक अभियान’ घोषणा गरिएको छ ।

खनालले सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् । अभियानले मुलुकको वर्तमान राजनीतिक अवस्था, वामपन्थी आन्दोलनको दिशा र समाजवादको नेपाली स्वरूपबारे वैचारिक बहस अघि बढाउने उद्देश्य लिएको बताइएको छ ।

अभियानको हालै बसेको बैठकले १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ । प्रस्तावमा बृहत् वाम एकतालाई वर्तमान समयको आवश्यकता ठहर गर्दै विभिन्न धारमा विभाजित सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ । त्यस्तै, एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने तथा नेपाली विशेषताको समाजवादका विषयमा खुला वैचारिक बहस सञ्चालन गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ ।

समाजवादी जागरण अभियानमा खनालसँगै पूर्वमाओवादी केन्द्रनिकट हरिबोल गजुरेल, पानीराज बम्जन, हेमन्तप्रकाश ओली र महेश्वर दाहाललगायत सहभागी छन् । अभियानमा विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सहभागिता रहेकाले यसलाई पार्टीको नियमित सांगठनिक गतिविधिभन्दा बाहिरको वैचारिक पहलका रूपमा प्रस्तुत गरिएको छ ।

यसैबीच, पूर्वअर्थमन्त्री पाण्डेसहितका नेताहरूको पहलमा ललितपुरमा आयोजित कार्यक्रमबाट ‘नागरिक अभियान’ घोषणा गरिएको छ । उक्त अभियानमा पूर्वमन्त्री हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय, सर्वेन्द्रनाथ शुक्ललगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा पत्रकार, वकिल तथा राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसमेत सहभागी थिए । अभियान घोषणा गर्दै पाण्डेले यसको स्वरूप गैरराजनीतिक प्रकृतिको हुने बताए । यद्यपि, अभियानले राजनीतिक एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल तथा बहस गर्ने उनले स्पष्ट पारेका छन् ।
दुवै अभियानको नेतृत्व, संरचना र प्राथमिकता फरक भए पनि पार्टीगत सीमाभन्दा बाहिर रहेर नयाँ वैचारिक तथा राजनीतिक बहस अघि बढाउने साझा उद्देश्य देखिएको छ । खनाल नेतृत्वको अभियानले बृहत् वाम एकता, एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाली विशेषताको समाजवादलाई मुख्य विषय बनाएको छ भने पाण्डे नेतृत्वको नागरिक अभियानले गैरराजनीतिक स्वरूपमा रहेर राजनीतिक एजेन्डामाथि नागरिक तहबाट संवाद गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया