काठमाडौँ,१८ असोज – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा वामपन्थी आन्दोलनको वैचारिक तथा राजनीतिक पुनर्गठनका लागि ‘समाजवादी जागरण अभियान’ सञ्चालन गरिने भएको छ । शनिबार खनालको अगुवाइमा सम्पन्न गोप्य भेलाले ठूला वामपन्थी दलहरूमा वैचारिक बहस र राजनीतिक प्रशिक्षण कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नयाँ पहल अघि बढाउने निर्णय गरेको हो ।
बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चलेको भेलामा नेकपासहित एमाले, साविक एकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न वामपन्थी दलसँग आबद्ध ७० जनाभन्दा बढी नेता सहभागी भएको बताइएको छ । भेलाले समसामयिक राजनीतिक तथा वैचारिक विषयसम्बन्धी विभिन्न प्रस्तावसमेत पारित गरेको सहभागीहरूले जनाएका छन् ।
वामपन्थी नेता महेश्वर दाहालका अनुसार अभियानको उद्देश्य वाम आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गर्नु हो । “राजनीतिक तथा वैचारिक रूपमा वामपन्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नेगरी समाजवादी जागरण अभियान चलाउने निर्णय भएको छ । भेलाको उद्देश्य, कार्यक्रम र निर्णयहरूबारे सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइन्छ,” दाहालले भने । उनका अनुसार सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी भेलाका निर्णय, आगामी कार्यक्रम र सहभागीहरूको नामावली सार्वजनिक गरिनेछ ।
पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिँदै आएका खनालको अगुवाइमा आयोजित भेलालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । दाहालले भने तत्काल नयाँ पार्टी गठनभन्दा यसलाई समाजवादी जागरण अभियानका रूपमा बुझ्नुपर्ने बताए । नेतृत्व नसच्चिए पार्टी पुनर्गठन तथा नयाँ पार्टी निर्माणतर्फ जाने ‘प्रस्थानबिन्दु’ बन्न सक्ने सम्भावनासमेत उनले औँल्याए ।
खनालले पनि अभियानलाई तत्काल पार्टी विभाजनको प्रयास नभई वामपन्थी शक्तिहरूबीच व्यापक एकताको आधार तयार गर्ने पहलका रूपमा व्याख्या गरेका छन् । ‘अहिले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि समाजवादी जागरण अभियान चलाउने निर्णय गरेका छौँ । यो विशुद्ध राजनीतिक तथा वैचारिक समूह हो,” खनालले भने, “ठूला पार्टीको वर्तमान नेतृत्वबाट अब वामपन्थी आन्दोलन अगाडि बढ्न सक्दैन । समाजवादी जागरण अभियान तोड्न होइन, जोड्नका लागि हो। बृहत् वामपन्थी एकताका लागि प्रस्थानबिन्दु हो। यसबारे हामी पत्रकार सम्मेलन गरी प्रस्ट पार्छौं ।”
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वबाट वाम आन्दोलन अघि बढ्न नसक्ने निष्कर्षसहित खनालले असारको पहिलो हप्ता पार्टीमा ३६ बुँदे फरक प्रस्ताव पेस गरेका थिए । त्यसपछि असोज ६ गते बसेको केन्द्रीय संयोजन समिति बैठकमा उनले महाधिवेशनसम्बन्धी २२ बुँदे सुझावपत्रसमेत प्रस्तुत गरेका थिए ।
भेलामा खनालसँगै नेकपाबाट निष्कासनमा परेका नेता हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल, पानीराज बम्जन तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीलगायत सहभागी भएको बुझिएको छ । यता नेकपा प्रवक्ता प्रकाश ज्वालाले पार्टीबाट को–को भेलामा सहभागी भए भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् । “भेला भएको सुनेको छु । पार्टीको तर्फबाट को–को सहभागी भए भन्ने थाहा छैन । यस विषयमा म पनि बुझ्दैछु,’ उनले भने ।