सिन्धुली काँग्रेसमा युवाको उदय, पुस्तान्तरणको संकेत

बिहिवार , आश्विन १५, २०८३


सिन्धुली,१५ असोज— नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशनका लागि जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुँदा नयाँ पुस्ताको उल्लेख्य उपस्थितिले संगठनभित्र बदलिँदो शक्ति सन्तुलनको संकेत दिएको छ । लामो समयदेखि प्रभाव राख्दै आएका केही नेताभन्दा नयाँ अनुहारले बढी मत प्राप्त गरेपछि नेतृत्व निर्माण, पुस्तान्तरण र संगठनको आगामी दिशाबारे बहसको आधार बनेको छ ।

निर्वाचन परिणाममा पुराना नेताको उपस्थिति कायम रहे पनि युवा तथा स्थानीय तहबाट स्थापित नेतृत्वको प्रभाव विस्तार भएको देखिन्छ । यसले जिल्लाको काँग्रेस राजनीतिमा अनुभवसँगै नयाँ पुस्ताको सक्रियता र संगठनात्मक पहुँचसमेत प्रतिस्पर्धाको निर्णायक आधार बन्दै गएको संकेत गरेको छ ।

क्षेत्र नम्बर १ को खुलातर्फ २३ महाधिबेशन प्रतिनिधिका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । पुराना नेता उज्ज्वलप्रसाद बराल ७८१ मतसहित सर्वाधिक मत प्राप्त गरेर निर्वाचित भए । तीनपाटन गाउँपालिकाका अध्यक्ष तथा निबर्तमान क्षेत्र नं. १ का सभापति कर्णबहादुर मगरले ७१३ मत ल्याए । प्रेमचन्द्र दाहाल ६३१ तथा नयाँ पुस्ताका मुकेश घिमिरे ६२४ मतसहित महाधिवेशन प्रतिनिधि बने ।

यही क्षेत्रबाट काँग्रेसका पूर्व सचेतक श्याम घिमिरे र लामो समय पार्टी संगठनमा योगदान गरेका मोहन बराल पनि निर्वाचित भए । यद्यपि, उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न तुलनात्मक रूपमा कठिन प्रतिस्पर्धा परेको विवरणले पुराना नेताको स्थापित प्रभावमाथि नयाँ पुस्ताबाट चुनौती थपिएको देखाउँछ ।

क्षेत्र नम्बर २ को खुलातर्फ पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय क्षेत्रबहादुर बम्जन ७०५ मतसहित पहिलो बने । दीपककुमार घिमिरे, कुमार ढकाल, डम्बरबहादुर कार्की, नवराज श्रेष्ठ ‘आकास’, ईश्वरकुमार बस्नेत, भुपेन्द्र पौडेल र विवशकुमार वाईबा पनि निर्वाचित भए । जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल र कृष्णप्रसाद दाहालले भने कठिन प्रतिस्पर्धाबीच प्रतिनिधिको स्थान सुरक्षित गरे ।

कमलामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उज्वल थापाले खस आर्यतर्फ सर्वाधिक मत प्राप्त गरे । महिलातर्फ चार जना प्रतिनिधि चयन भए । पैंतीस वर्षमुनिका युवा खुलातर्फ मविनकुमार तामाङ र समिरविक्रम थापा निर्वाचित हुँदा युवाको उपस्थितिले थप संस्थागत आधार पाएको छ ।

क्षेत्र नम्बर २ बाट तामाङ र थापाको चयन तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुजन थापा मगरको विजयलाई परम्परागत संगठनात्मक संरचनाभित्र युवाको पहुँच विस्तारसँग जोडेर हेर्न सकिन्छ । प्रतिनिधि छनोटमा देखिएको यो उपस्थितिले आगामी नेतृत्व निर्माणमा युवाको दाबी बलियो बनाउने सम्भावना देखाएको छ ।

तर, निर्वाचन परिणामलाई पुस्तान्तरणको एउटै आधारबाट व्याख्या गर्नु पर्याप्त हुँदैन । उम्मेदवारको व्यक्तिगत सम्बन्ध, स्थानीय संगठनमा प्रभाव, सामाजिक पहुँच, राजनीतिक सक्रियता र मतदातासँगको प्रत्यक्ष सम्पर्कले पनि अधिवेशनको परिणाम निर्धारण गर्छन् । त्यसैले नयाँ पुस्ताको सफलतालाई संगठनात्मक प्रभाव विस्तारको संकेत मान्न सकिए पनि तत्काल पूर्ण नेतृत्व परिवर्तनको निष्कर्ष निकाल्नु हतार हुनेछ ।

यसपटक पुराना नेता, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र नयाँ अनुहारले सँगसँगै प्रतिनिधित्व पाएका छन् । यसले नेतृत्व निर्माणको आधार फराकिलो भएको देखाउँछ । पुराना नेताका लागि आफ्नो भूमिकालाई पुनः परिभाषित गर्ने चुनौती थपिँदा उनीहरूको अनुभव, युवाको ऊर्जा र बदलिँदो राजनीतिक अपेक्षाबीच समन्वयको आवश्यकता बढेको छ ।

महाधिवेशनको तयारीसँगै देशभर प्रतिनिधि चयन प्रक्रिया अघि बढेको सन्दर्भमा सिन्धुलीको परिणामले पुस्तागत प्रतिस्पर्धा र नयाँ नेतृत्वको खोजीलाई थप स्पष्ट बनाएको छ । 

अब निर्वाचित नयाँ अनुहारको राष्ट्रिय महाधिवेशनमा हुने सहभागिता र जिल्लामा फर्किएपछि संगठन निर्माणमा देखिने योगदानले उनीहरूको प्रभावको वास्तविक परीक्षण गर्नेछ । प्रतिनिधिमा चयन हुनु प्रारम्भिक उपलब्धि भए पनि त्यसलाई निरन्तर राजनीतिक सक्रियता र संगठनात्मक जिम्मेवारीमा रूपान्तरण गर्नुपर्ने चुनौती छ । अनुभव र नयाँ अपेक्षाबीच बन्ने सहकार्यले नै सिन्धुली काँग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

प्रतिक्रिया