सिन्धुली,१० असोज – सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत गरेका २७ आयोजनामध्ये निर्माणाधीन अधिकांश आयोजनाको प्रगति अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा पनि धेरै आयोजनाको प्रगति उल्लेख्य रूपमा सुधार हुन सकेको छैन । यसले निर्माणाधीन आयोजनाहरू तत्काल सम्पन्न भई सञ्चालनमा आउने अवस्था कमजोर देखाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा आव २०४५÷४६ देखि सुरु भएका आयोजनासमेत समेटिएका छन् । हाल सूचीकृत २७ आयोजनामध्ये तीन आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने २४ आयोजना अझै निर्माणकै चरणमा छन् । कतिपय आयोजनाको सम्पन्न हुने समयसीमासमेत यकिन हुन नसकेको अवस्था छ ।
आयोजना कार्यान्वयनमा देखिएको सुस्तताको मुख्य कारण पूर्वतयारीबिनै काम सुरु गर्नु, वातावरणीय कानुनी प्रक्रिया पूरा गर्न देखिएका समस्या, निर्माण सामग्रीको अभाव, स्थानीयस्तरमा उत्पन्न विवाद, स्रोत व्यवस्थापनको चुनौती तथा निर्माणको उपयुक्त मोडालिटी समयमै तय गर्न नसक्नु रहेको देखिएको छ ।
यसैमध्ये सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७६÷७७ बाट कार्यान्वयन सुरु भएको यस आयोजनाको २०८२/८३ सम्मको भौतिक प्रगति ३७ दशमलव ८१ प्रतिशत मात्र पुगेको छ । आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य २०८९/९० सम्म सारिएको छ ।
सुरुवाती लागत ४९ अर्ब ४२ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाको लागत अहिले बढेर ६१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ सम्म आयोजनाको भौतिक प्रगति ३६ दशमलव ८३ प्रतिशत रहेको थियो । त्यसयता काममा उल्लेख्य गति आउन नसकेको विवरणले देखाएको छ ।
सरकारले पुरानो ठेक्का प्रक्रिया अन्त्य गरी नयाँ प्रक्रियामा जानुपरेपछि आयोजनाको निर्माण कार्य प्रभावित भएको हो । हालसम्म सुनकोशी–मरिन डाइभर्सन आयोजनामा १६ अर्ब ८१ करोड रुपैयाँ खर्च भइसकेको छ ।
राष्ट्रिय गौरवका आयोजनालाई विकासको मेरुदण्डका रूपमा लिइए पनि कार्यान्वयन चरणमा देखिएका प्रशासनिक, कानुनी र व्यवस्थापकीय अवरोधका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको अवस्था छ । समयमै समस्या समाधान गरी निर्माण गति बढाउन नसकिएमा लागत वृद्धि र समय लम्बिने जोखिम अझ बढ्ने देखिन्छ ।