शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

ट्रकको ठक्करबाट स्कुटर चालकको उपचारका क्रममा मृत्यु

शनिवार , आश्विन १०, २०८३

बारा,१० असोज — जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रवार राति ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । 

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका स्कुटर चालक मोरङको लाङटाङ नगरपालिका–१ निवासी अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जका र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उद्धार तथा प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरीले ट्रक र चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका–२१ निवासी अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया