पार्टी राजनीतिमा जनमत आवश्यक पहिलो सर्त हो । लोकतान्त्रिक पुँजीवादी व्यवस्थामा जनमतबिना राज्यसत्ता प्राप्त गर्न सकिँदैन । जनमत प्राप्त गर्नका लागि राजनीतिक दलले आफ्नो विचार, सिद्धान्त र मूल्यमान्यतासँग कति सम्झौता गर्न सक्छ वा सक्दैन ? भन्ने प्रश्न भने यतिबेला गंभीर बनेको छ । विशेषतः आफूलाई कम्युनिस्ट र परिवर्तनकारी शक्ति दाबी गर्ने नेपालका राजनीतिक दलका लागि यो प्रश्न अझ गम्भीर बनेर खडा भएको छ ।
नेपालको आम जनजीवन अझै पनि अनेकौं कुरीति, अन्धविश्वास र परम्परागत धारणाबाट प्रभावित छ । सबै परम्परा खराब हुँदैनन् । तर कुनै परम्परा वा विश्वासले जनमानसमा विभेद गर्छ, वैज्ञानिक चेतनाको विकास रोक्छ, मानव अधिकारलाई कमजोर बनाउँछ वा सामाजिक न्यायको बाटो छेक्छ भने त्यसलाई प्रश्न गर्नु परिवर्तनकारी राजनीतिको स्वाभाविक दायित्व हो ।
तर यहाँ एउटा विडम्बना देखिन्छ । जनताको चेतना बदल्ने र समाजलाई प्रगतिशील दिशामा लैजाने दाबी गर्ने राजनीतिक शक्ति नै जनमतको डरले त्यही पुरानो चेतनाको पछि लाग्न थाल्यो भने परिवर्तनको राजनीति कहाँ पुग्छ ? जव प्रश्न रोकिन्छ वा दबाइन्छ, त्यसले गंभीर संकटहरु निम्त्याउने गर्छ ।
बहुसंख्यक जनता कुनै अन्धविश्वासमा विश्वास गर्छन् भने त्यसलाई चुनौती नदिने ? सत्ता वा समूदायले अँगालेको कुनै कुरा लोकप्रिय छ भने त्यसको विरोध नगर्ने ? कुनै सामाजिक अभ्यास गलत छ भन्ने थाहा हुँदाहुँदै सामाजिक सञ्जालमा गाली खाइन्छ, अपमानित होइन्छ भन्ने डरले मौन बस्ने ? यदि उत्तर ‘हो’ भने, त्यसपछि जीवनदर्शन र राजनीतिक व्यवहारबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठ्छ र उठाउनु पर्छ पनि ।
कार्ल माक्र्सले धर्मको आलोचना गर्दा त्यसलाई केवल मानिसको व्यक्तिगत आस्थामाथिको प्रश्न बनाएका थिएनन् । उनले धार्मिक चेतनालाई मानिसले भोगिरहेको सामाजिक अवस्थासँग जोडेर हेरे । उनको तर्कमा धार्मिक पीडाको आलोचना अन्ततः मानिसलाई पीडा दिने वास्तविक सामाजिक परिस्थितिको आलोचनासँग जोडिएको थियो ।
अर्थात् माक्र्सवादी दृष्टिकोणको मूल प्रश्न मानिसको विश्वासलाई अपमान गर्नु होइन, मानिसलाई त्यस्तो विश्वासको आवश्यकता किन परिरहेको छ भन्ने सामाजिक यथार्थको खोजी गर्नु हो ।
लेनिनले पनि धर्मसम्बन्धी प्रश्नलाई वर्गीय तथा सामाजिक परिस्थितिसँग जोडेर व्याख्या गरका थिए । उनको क्यअष्बष्किm बलम च्भष्निष्यल मा धर्मलाई सामाजिक उत्पीडनको एउटा रूपका रूपमा विश्लेषण गरिएको छ ।
तर आज प्रश्न उठ्छ, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई जीवनदर्शन मान्ने राजनीतिक शक्तिहरूले आफ्नै समाजभित्रका अन्धविश्वास, कुरीति र अवैज्ञानिक धारणाविरुद्ध कति संगठित वैचारिक संघर्ष गरिरहेका छन् ?
कतै यस्तो त भइरहेको छैन, चुनाव जित्नुपर्छ, त्यसैले जनताको विश्वास नछोऔं, भोट घट्न सक्छ, त्यसैले प्रश्नै नगरौं, मेरो लोकप्रियता गुम्न सक्छ, त्यसैले आफ्नै विचारलाई केही समयका लागि थन्क्याऔं ।
यदि अहिलेका कम्युनिष्ट नेताहरुको समस्या केवल एउटा राजनीतिक निर्णयको होइन । यो राजनीतिक चरित्र र बिचलनको प्रश्न हो पनि । जुनकुरा उनीहरुले नेतृत्वको गरेको पार्टीका विद्यमान जारी छ, र आफ्नो पद जोगाउनका लागि सबै हथकण्डा अपनाइरहेका छन् ।
जनताको भावना बुझ्नु र जनताको हरेक धारणाको पछि लाग्नु फरक कुरा हुन् । जनताको सम्मान गर्नु र जनताको पूर्वाग्रहलाई राजनीतिक सिद्धान्त बनाउनु पनि एउटै होइन । परिवर्तनकारी नेतृत्वको काम लोकप्रिय कुरा दोहो¥याउनु मात्र होइन, आवश्यक पर्दा कठिन प्रश्न उठाउनु, तर्क प्रस्तुत गर्नु र समाज र आफूले नेतृत्व गरेको दललाई नयाँ दिशातर्फ डो¥याउनु पनि हो ।
निश्चय नै, चेतना परिवर्तन सजिलो हुँदैन । कुनै पनि समाजको गहिरो सांस्कृतिक विश्वासलाई एकै दिनमा बदल्न सकिँदैन । त्यसका लागि शिक्षा, संवाद, वैज्ञानिक चेतना, सामाजिक अभियान र निरन्तर राजनीतिक काम आवश्यक हुन्छ । जनता वा पार्टीका कार्यकर्ताको आस्था र भरोसालाई गाली गरेर होइन, उनीहरूलाई बुझाएर र वास्तविक जीवनसँग जोडेर परिवर्तनको आधार निर्माण गर्नुपर्छ, जोर जर्वजस्तीमा होइन ।
आफूमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिने र विश्वासिलो वातावरण बनेन भने जिम्मेवारीबाट बिदा लिएर भरोसा योग्यलाई नेतृत्व हस्तान्तरण गर्नु मूल नेतृत्वको दायित्व पनि हो । यहींनेर नेपालको कम्युनिस्ट नेता वा आन्दोलनको परीक्षा चलिरहेको छ ।
सत्ता प्राप्त गर्न विचार चाहिने, तर सत्ता प्राप्त भएपछि विचारको आवश्यकता नपर्ने र कहिल्यै छोड्नै नसक्ने राजनीति अन्ततः कस्तो राजनीति हो ?
घोषणापत्रमा वैज्ञानिक चेतना, समानता, सामाजिक न्याय र मानवमुक्तिको कुरा गर्ने अनि व्यवहारमा पार्टी होस् वा जनसत्ताका लागि त्यही मूल्यहरूसँग सम्झौता गर्ने हो भने राजनीतिक इमान्दारिताको प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।
राज्यसत्ता आफैंमा साध्य होइन, कुनै निश्चित सामाजिक उदेश्य पूरा गर्ने साधन मात्रै हो । त्यसैले सत्ता प्राप्त गर्ने यात्रामा अपनाइने बाटो र सत्तामा पुगेपछि गरिने व्यवहार दुवैलाई घोषित जीवनदर्शनको कसौटीमा जाँचिनुपर्छ ।
आज कम्युनिस्ट आन्दोलनले वा आफूलाई नेता हुँ भन्नेले आफैंलाई एउटा असहज प्रश्न सोध्नुपर्ने बेला आएको छ । हामी जनमतको सम्मान गर्दै समाज बदलिरहेका छौं कि जनमतको डरले आफू नै बदलिइरहेका छौं वा हामी नेतृत्व गर्न असफल भयौं ?
यदि जनताको तत्कालीन लोकप्रिय धारणालाई जित्नकै लागि आफ्नो वैचारिक प्रतिबद्धता निरन्तर त्याग्ने हो भने त्यो चुनावी सफलता मात्रै हुन सक्छ, तर वैचारिक विजय होइन । राजनीतिमा भोट आवश्यक छ । तर भोटका लागि विचार बेचिएपछि बाँकी रहने राजनीतिले जेनजी उपद्रोह जन्माएको र निर्वाचनमा बढारिएको तथ्यलाई बुझ्न जरुरी छ ।
अहिलेका नेताले जीवन दर्शनलाई परिस्थिति अनुसार लगाउने र फुकाल्ने पोसाक बनाउने हो भने त्यसको नाम जीवनदर्शन रहँदैन । मूल्यमान्यता पनि त्यतिबेला मात्र मूल्यवान् हुन्छ, जब कठिन परिस्थितिमा पनि त्यसप्रति इमान्दार रहन सकिन्छ ।
त्यसैले आजको प्रश्न केवल कम्युनिस्टहरूले कति भोट पाए भन्ने होइन । प्रश्न यो हो, उनीहरूले आफ्नो घोषित विचारका लागि कति मूल्य चुकाउन तयार भए ? जनताको मत जित्नु आवश्यक छ । तर त्यसका लागि आफ्नो विचार हार्नु आवश्यक छैन ।
बरु विचारप्रति इमान्दार भएर जनताको चेतनासँग संवाद गर्ने, गलतलाई गलत भन्न सक्ने र समाजलाई क्रमशः नयाँ दिशातर्फ लैजाने राजनीतिक साहस चाहिन्छ ।
नत्र इतिहासले एक दिन कठोर प्रश्न सोध्नेछ, भोट जित्न खोज्दा तिमीहरुले विचार त बेचेनौं ? र यदि उत्तर ‘बेचियो’ नै हो भने, भन्नैपर्ने हुन्छ, भाँडमा जाऊन् तिम्रा जीवनदर्शन र मूल्य मान्यताहरू !