काठमाडौँ,०८ असोज – बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालभर देखिएको छ । यसको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा हुँदा सडक, चोक तथा बजार क्षेत्रमा सर्वसाधारणको दैनिक गतिविधि प्रभावित बनेको छ । वर्षाका कारण आवतजावतमा कठिनाइ देखिनुका साथै सहरी क्षेत्रमा सामान्य जनजीवनसमेत प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्मका लागि चार दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार असोज ९ र १० गते विशेषगरी विभिन्न भूभागमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको छ ।
महाशाखाले असोज ९ गते बागमती, मधेश तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित ‘रेड अलर्ट’ जारी गरेको छ । त्यसैगरी असोज १० गते वर्षाको प्रभाव क्रमशः पश्चिमतर्फ सर्ने अनुमान गर्दै कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा जल सतह बढ्न सक्ने, बाढी, डुबान, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।