शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हवाई फायरपछि १०३ ग्राम हेरोइन सहित एक जना पक्राउ

बुधवार , आश्विन ७, २०८३


नेपालगञ्ज, ७ असोज – बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गर्दै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ क्षेत्रमा कारबाहीका क्रममा भारत उत्तरप्रदेशका एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्ला रुपैडिया थाना चकिया रोड निवासी २४ वर्षीय नदिम राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार राई मंगलबार राति करिब पौने ११ बजे भारतीय नम्बर प्लेट भएको यूपी४०जे०६५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै थिए ।

शंका लागेपछि प्रहरीले मोटरसाइकल रोक्न खोज्दा राई तीव्र गतिमा भाग्न खोजेको प्रहरीको भनाइ छ । त्यसक्रममा नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। तर मोटरसाइकल नरोकिएपछि टायर लक्षित गरी थप दुई राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको निरौलाले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया