सिन्धुली,०६ असोज – नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन लागेको कमलामाई नगरपालिका नगर कार्यसमिति सभापति पदको निर्वाचनमा युवा नेता समुन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । संगठन निर्माण, कार्यकर्तासँगको निरन्तर सहकार्य र पार्टीप्रतिको सक्रिय भूमिकालाई आधार बनाउँदै श्रेष्ठले नगर नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
कमलामाई नगरपालिका–४ को वडा कार्यसमिति सभापतिको जिम्मेवारी दुई कार्यकाल सफलतापूर्वक सम्हालेका श्रेष्ठ स्थानीय पार्टी संगठनमा अनुभव भएका र कार्यकर्तामाझ परिचित युवा नेताका रूपमा चिनिन्छन् । वडा तहमा रहेर उनले पार्टीको संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा जनतासँगको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।
नेपाली काँग्रेसको संगठनलाई अझ व्यवस्थित, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित नगर सभापतिको जिम्मेवारी लिन आफू अघि बढेको श्रेष्ठले बताएका छन् । उनले पार्टीलाई केवल निर्वाचन केन्द्रित संगठन नभई जनताको सुख–दुःखमा साथ दिने, विचार र सिद्धान्तमा आधारित सशक्त संगठनका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
युवा पुस्तालाई पार्टी संगठनमा सक्रिय बनाउँदै अनुभवी नेता तथा कार्यकर्ताको योगदानलाई सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको श्रेष्ठको भनाइ छ । स्थानीय तहदेखि नै संगठन बलियो भए मात्र पार्टीको आगामी यात्रा थप प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरेका छन् ।
कमलामाई नगरपालिकामा लामो समयदेखि काँग्रेसको संगठन विस्तारमा सक्रिय रहेका श्रेष्ठको उम्मेदवारीलाई पार्टीभित्र युवा नेतृत्वको खोजी र संगठनलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ ।
आसन्न नगर अधिवेशनले कमलामाई काँग्रेसको आगामी दिशा तय गर्ने भएकाले सभापति पदको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । संगठनप्रतिको प्रतिबद्धता, कार्यकर्तासँगको सम्बन्ध र नेतृत्व क्षमताका आधारमा प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नेछन् ।