काठमाडौं,०४ असोज — सिन्धुलीको कमला माध्यमिक विद्यालय, ढुंग्रेबासका पूर्वविद्यार्थीहरू विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित एकै ठाउँमा जुटेका छन् । वर्षौँअघि एउटै विद्यालय र कक्षाकोठाबाट शिक्षा लिएका पूर्वविद्यार्थीहरूले आइतवार काठमाडौंमा आयोजना गरिएको बृहत् भेलामार्फत विद्यालयप्रतिको जिम्मेवारी र आगामी सहकार्यको खाका प्रस्तुत गरेका हुन् ।
भेलाले पूर्वविद्यार्थी तथा शिक्षक अमरदीप देवकोटाको नेतृत्वमा कमला माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको कार्यसमिति गठन गरेको छ । समाज गठनसँगै विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थीको शैक्षिक अवसर विस्तार र संस्थागत विकासमा पूर्वविद्यार्थीको भूमिका प्रभावकारी बनाउने उद्देश्य अघि सारिएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका पूर्वविद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । पूर्वमन्त्री, पूर्वगृहसचिव, चिकित्सक, प्राध्यापक, वैज्ञानिक, उच्च तहका पूर्वकर्मचारी तथा विभिन्न पेशा र क्षेत्रमा स्थापित व्यक्तिहरू भेलामा सहभागी भएका थिए ।
भेलाका क्रममा विद्यालयको वर्तमान अवस्था, शैक्षिक सुधारका सम्भावना, स्रोतसाधन व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा छलफल भएको थियो । विशेषगरी विपन्न तथा जनजाति समुदायका विद्यार्थीलाई शिक्षामा थप पहुँच र अवसर उपलब्ध गराउने तथा विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीको अनुभव, ज्ञान र स्रोतलाई उपयोग गर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए ।
पूर्वविद्यार्थी समाज गठनलाई विद्यालयसँग जोडिएको एउटा पुस्ताको संस्थागत पहलका रूपमा लिइएको छ । व्यक्तिगत सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूले आफूले प्राप्त गरेको शिक्षाको योगदानलाई पुनः विद्यालय र समाजसँग जोड्ने उद्देश्यले अभियान अघि बढाएका हुन् ।
भेलामा सहभागीहरूले विद्यालय जीवनका पुराना अनुभव, गुरुहरूसँगको सम्बन्ध, विद्यार्थी अवस्थाका संघर्ष तथा आ–आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धिहरू साझा गरेका थिए । छलफलका क्रममा विद्यालयबाट प्राप्त शिक्षाले केवल व्यक्तिगत भविष्य निर्माण नगरी समाजप्रतिको दायित्वसमेत बढाउने धारणा व्यक्त गरिएको थियो ।
कमला माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरू अब आपसी समन्वय, सहकार्य र साझा प्रतिबद्धताका साथ विद्यालयको शैक्षिक उन्नयन तथा संस्थागत सुदृढीकरणमा सक्रिय हुने भएका छन् । पूर्वविद्यार्थी समाजले आगामी दिनमा विद्यालय र विद्यार्थीको हितलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।