बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

प्रहरीको ब्यारिकेट तोडेर भागेको एम्बुलेन्समा भेटियो १०५ किलो गाँजा

बुधवार , भाद्र ३१, २०८३


सिरहा, ३१ भदौ – सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति करिब ८ बजे एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक सुनिल चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले एम्बुलेन्समाथि निगरानी राखेपछि चालकले आफू पछ्याइएको थाहा पाएको र नियन्त्रणबाट उम्कने प्रयास गरेको प्रहरीले जनाएको छ ।

चालकले चोहर्वादेखि सिरहासम्म विभिन्न तीन स्थानमा राखिएका प्रहरी अवरोध (ब्यारिकेट) समेत तोडेर एम्बुलेन्स अगाडि बढाएका थिए । त्यसपछि प्रहरीले थप जनशक्ति परिचालन गरी एम्बुलेन्सको खोजी तथा पछ्याउने कार्यलाई तीव्र बनाएको थियो ।

प्रहरीको निरन्तर निगरानीपछि चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडक खण्डमा एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा बोराभित्र लुकाइराखिएको अवस्थामा १०५ किलो गाँजा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार रहेका चालकको पहिचान गरी खोजी कार्य जारी रहेको एसपी पाठकले जानकारी दिए ।

प्रहरीले एम्बुलेन्सजस्तो संवेदनशील सेवाको साधन प्रयोग गरी अवैध गतिविधि गरिएको विषयलाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया