बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

बालिका हत्या प्रकरण : एक आरोपी धरौटीमा, नौ जना तारेखमा

शुक्रवार , भाद्र २६, २०८३

काठमाडौं,२६ भदौ – बारा जिल्ला अदालतले ३ वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा मुख्य प्रतिवादी प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले सोही मुद्दामा संलग्न भनिएका अन्य नौ जना प्रतिवादीलाई भने साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने निर्णय गरेको हो ।

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले प्रमाण, प्रतिवादीको बयान तथा अनुसन्धानबाट प्राप्त विवरणको अध्ययनपछि यस्तो आदेश दिएको हो । अदालतको आदेशअनुसार प्रोगेश चौधरीले नगद २० हजार रुपैयाँ वा सो बराबरको जमानत बुझाएपछि बाहिर रहेर मुद्दाको सामना गर्न पाउनेछन् ।

अदालतले चौधरीले आरोप अस्वीकार गर्दै बयान दिए पनि घटनासँग जोडिएको घरमा बिजुलीको बत्ती बाल्न गएको तथ्य स्वीकार गरेको आधारमा तत्काल प्राप्त प्रमाणबाट उनको संलग्नता पूर्ण रूपमा अस्वीकार गर्न सकिने अवस्था नरहेको ठहर गरेको छ । वीरबहादुर रोक्काको खाली घरबाट बालिकाको शव बरामद भएको तथा घरधनीकी बुहारी टीका कुमारी शाहीसहित अनुसन्धानका क्रममा बुझिएका निर्मला न्यौपाने, हिरा कुमारी मिश्र, फुर्प गोलेलगायतका व्यक्तिको भनाइबाट पनि घटनामा उनको सम्भावित संलग्नता देखिएको अदालतको निष्कर्ष छ ।

अदालतले प्रमाण ऐन, २०३१ को दफा १८ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ अनुसार धरौटी माग गरेको जनाएको छ ।

यसैगरी इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नबिन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई साधारण तारेखमा छाडिएको छ । अदालतले उनीहरूविरुद्ध प्रत्यक्ष प्रमाण नदेखिएको र मुख्य कसुरमा सहयोग गरेको, साधन वा स्रोत उपलब्ध गराएको वा प्रमाण नष्ट गरेको पुष्टि हुने आधार मिसिलमा नरहेको उल्लेख गरेको छ ।

आरोपीहरूले कसुर अस्वीकार गरेको तथा अनुसन्धानका क्रममा संकलित कागजात र साक्षीको विवरणबाट अभियोग पुष्टि हुने पर्याप्त आधार नपाइएको भन्दै उनीहरूलाई थुनामा राख्नुपर्ने वा धरौटी माग गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ अनुसार उनीहरूलाई साधारण तारेखमा राखी मुद्दाको प्रक्रिया अघि बढाउने आदेश भएको हो ।

यसअघि प्रहरीबाट भिडियो सार्वजनिक भएको भनिएका नाबालक आरोपी नरवस्ती (क) को हकमा भने अदालतको चार पृष्ठे आदेशमा स्पष्ट रूपमा धरौटी वा साधारण तारेखसम्बन्धी निर्णय उल्लेख गरिएको छैन । आदेशमा उनलाई थुनामा पठाउने वा सुधारगृहमा राख्ने विषय पनि स्पष्ट रूपमा उल्लेख नभएकाले उनको कानुनी अवस्थाबारे अन्योल देखिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगर टोलमा २०८३ साल साउन ३१ गते बिहान हराएकी परिवर्तित नाम ‘गमला (क)’ नाम दिइएकी बालिकाको शव भोलिपल्ट भदौ १ गते छिमेकी वीरबहादुर रोक्काको खाली घरमा फेला परेको थियो । बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणीपछि हत्या गरिएको अभियोगमा मुद्दा दायर भएको थियो ।

घटनापछि बारा र काठमाडौंमा विरोध प्रदर्शन भएका थिए । यस क्रममा गृहमन्त्री सुधन गुरुङले पीडित परिवारलाई सिंहदरबार बोलाएर तीन बुँदे सहमति गरेका थिए ।

अभियोगपत्रमा प्रोगेश चौधरीसहित उनका बुवा इन्द्र चौधरी, आमा बबिता चौधरी, दिदी ममता चौधरी र श्रीमती पुष्पा चौधरीलाई घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो । अदालतले फरार रहेका अन्य प्रतिवादीहरूको हकमा कानुनअनुसार म्याद जारी गरी प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

प्रतिक्रिया