विकासबारे एउटा नागरिकको प्रश्न : विकास आखिर के हो?

सोमवार , भाद्र १, २०८३

माननीय आशीष गजुरेलज्यू,

आज तपाईंले " विकासका लागि तपाईंका राय, सुझाव र सल्लाह के छन् ?” भनेर स्टेटस राख्नुभएको रहेछ। त्यसैले एक  तथा सिन्धुलीको नागरिकको हैसियतले केही कुरा राख्न मन लाग्यो।

मेरो बुझाइमा विकास भनेको केवल ठूला भवन, सडक, पुल वा ठूलो बजेटको घोषणा मात्र होइन। विकास भनेको आम नागरिकको दैनिक जीवन केही सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो।आज सिन्धुलीका नागरिकले भोगिरहेका वास्तविक समस्या हेर्ने हो भने धेरै कुरा स्पष्ट छन्।

१.ग्यासको अभाव छ। घरघरमा खाना पकाउन ग्यास नपाएर दाउरा खोज्नुपर्ने अवस्था आउनु सामान्य कुरा होइन।

२.स्वास्थ्य क्षेत्रमा समस्या छन्।अस्पतालमा पुगेपछि बिरामीले सहज, गुणस्तरीय र समयमै सेवा पाउने वातावरण अझै बलियो बनाउनुपर्ने आवश्यकता छ।

३.शिक्षाको अवस्था र विद्यार्थी आकर्षणको विषय गम्भीर छ। हाम्रो आफ्नै प्राकृतिक स्रोत व्यवस्थापन कलेजजस्तो महत्वपूर्ण शैक्षिक संस्थामा स्वीकृत कोटाअनुसार विद्यार्थी नआउनु सामान्य विषय होइन।
त्यसैगरी सडक, खानेपानी, सिँचाइ, कृषि, रोजगारी, बजार, सार्वजनिक यातायात र ग्रामीण क्षेत्रमा आधारभूत सेवाको सहज पहुँचजस्ता विषय पनि विकासकै हिस्सा हुन्। त्यसैले मेरो विचारमा सिन्धुलीको विकासको पहिलो आधार नागरिकको आवश्यकता पहिचान गर्नु हो।

केही समयअघि तपाईंले पत्रकार राजेन्द्र बानियाजीसँगको कार्यक्रममा सिन्धुलीका लागि बजेट ल्याउने विषयमा आफूले त्यति सोच नराखेको र बजेटका लागि दौडधुप पनि नगरेको आशय व्यक्त गर्नुभएको मैले सुनेँ। यदि त्यो भनाइ सही रूपमा उद्धृत भएको हो भने, एउटा नागरिकका रूपमा मलाई त्यो कुरा अलि असहज लाग्यो। किनकि जनप्रतिनिधिको मुख्य जिम्मेवारी नै आफ्नो क्षेत्रका आवश्यकता पहिचान गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने, आवश्यक स्रोत खोज्ने र जनताको समस्या समाधानका लागि निरन्तर पहल गर्ने होइन र? सिन्धुलीका लागि बजेट माग्नु कसैको व्यक्तिगत उपलब्धि होइन, जनताको अधिकार हो।

बजेट ल्याएर व्यक्तिगत प्रचार गर्न होइन, जनताको आवश्यकता पूरा गर्न पहल गर्नुपर्छ। तर विकासको अर्को महत्वपूर्ण पक्ष पनि छ—बजेट ल्याउनु मात्र पर्याप्त हुँदैन।

कुन ठाउँमा कति बजेट चाहिन्छ ? कुन समस्या पहिले समाधान गर्नुपर्छ ? बजेटको सही उपयोग भइरहेको छ कि छैन ? कामको गुणस्तर कस्तो छ ?

त्यसको प्रत्यक्ष लाभ जनताले पाइरहेका छन् कि छैनन् ? यी प्रश्नको जवाफ खोज्नु पनि उत्तिकै आवश्यक छ। मेरो विचारमा सिन्धुलीको विकासका लागि ठूला सपना देख्नुभन्दा पहिले साना तर जनताको दैनिक जीवनसँग जोडिएका समस्यामा परिणाम देखाउनुपर्छ।

घरमा ग्यास सहज उपलब्ध होस्। बिरामी अस्पताल पुग्दा सेवा सहज होस्।विद्यार्थीले आफ्नै जिल्लामा गुणस्तरीय शिक्षा पाउने वातावरण बनोस्। किसानले उत्पादन गरेको वस्तुले बजार र उचित मूल्य पाओस्।

गाउँमा सडक पुगेपछि वर्षामा पनि आवतजावत गर्न सकिने होस्। खानेपानी, सिँचाइ र विद्युतको समस्या कम होस्। युवाले आफ्नो गाउँ–ठाउँमै केही गर्न सक्ने वातावरण बनोस्। यिनै कुराबाट विकासको वास्तविक अनुभूति हुन्छ।
त्यसैले माननीयज्यू, तपाईंले आज “विकास कसरी गर्ने?” भनेर नागरिकसँग राय माग्नुभएको छ भने मेरो सानो सुझाव छ—

पहिलो कुरा, फेसबुकबाट समस्या सुन्नेभन्दा स्थलगत रूपमा जनतामाझ पुगेर समस्या सुन्नुहोस्।दोस्रो कुरा, सम्बन्धित कार्यालय, विज्ञ, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, किसान, व्यवसायी, विद्यार्थी र सर्वसाधारणसँग एउटै टेबलमा बसेर प्राथमिकता निर्धारण गर्नुहोस्।

तेस्रो कुरा, आवश्यक बजेट र स्रोतका लागि संघ, प्रदेश तथा स्थानीय तहसँग निरन्तर पहल गर्नुहोस्। र चौथो कुरा, पहल गरेका योजनाको परिणाम नआएसम्म त्यसको निरन्तर अनुगमन र जवाफदेहिता कायम गर्नुहोस्।

हामीलाई अब भाषणमा मात्र विकास चाहिएको छैन। हामीलाई परिणाममा देखिने विकास चाहिएको छ। फेसबुकमा “विकास गरौँ” भनेर लेख्नु सजिलो छ। तर जनताको समस्या पहिचान गरेर त्यसका लागि बजेट खोज्नु, सम्बन्धित निकायलाई दबाब दिनु, काम सुरु गराउनु, गुणस्तर हेर्नु र परिणाम नआएसम्म पछ्याइरहनु वास्तविक जनप्रतिनिधिको परीक्षा त्यही हो।

त्यसैले मेरो आग्रह छ— सिन्धुलीका नागरिकलाई विकासको परिभाषा सोध्नुभन्दा पहिले, उनीहरूले दैनिक जीवनमा भोगिरहेका समस्या सुन्नुहोस्। ती समस्याको प्राथमिकता निर्धारण गर्नुहोस्। अनि एउटा–एउटा गर्दै समाधान देखाउनुहोस्। किनकि,विकास पोस्टमा लेखिने शब्द होइन,

जनताको जीवनमा देखिने परिवर्तन हो। र अन्त्यमा एउटा कुरा— हामी आलोचना मात्र गर्न चाहँदैनौँ। हामी काम भएको देख्न चाहन्छौँ। तपाईंले राम्रो काम गर्नुभयो भने त्यसको प्रशंसा गर्ने पनि हामी नै हौँ। तर जनप्रतिनिधिसँग प्रश्न गर्ने, सुझाव दिने र जिम्मेवारी सम्झाउने अधिकार पनि नागरिककै हो।त्यसैले यो व्यक्तिगत आलोचना होइन, सिन्धुलीको समग्र विकासका लागि एक सचेत नागरिकको राय, सुझाव र अपेक्षा हो ।

 

प्रतिक्रिया