सिन्धुली,२२ साउन — विश्व स्तनपान सप्ताहका अवसरमा सिन्धुली अस्पतालले परम्परागत औपचारिक कार्यक्रमभन्दा फरक अभ्यास गर्दै नाटकमार्फत स्तनपानसम्बन्धी जनचेतना फैलाएको छ । अस्पतालका स्वास्थ्यकर्मी स्वयं कलाकारका रूपमा प्रस्तुत भएको नाटकले नवजात शिशुको स्वास्थ्य, प्रभावकारी स्तनपान, पारिवारिक सहयोग तथा कामकाजी आमाका आवश्यकतालाई केन्द्रमा राखेको थियो ।
“दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने मूल नारासहित अस्पताल परिसरमा आयोजित कार्यक्रममा उपचारका लागि आएका बिरामी तथा उनीहरूका कुरुवालाई मुख्य दर्शक बनाइएको थियो । स्वास्थ्यसम्बन्धी सन्देशलाई सहज, व्यावहारिक र बुझिने ढंगबाट समुदायसम्म पु¥याउने उद्देश्यले नाटकलाई जनचेतनाको माध्यम बनाइएको अस्पतालले जनाएको छ ।
नाटकमा शिशु जन्मिएको एक घण्टाभित्रै आमाको बिगौती दूध खुवाउनुपर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो । जन्मपछिका पहिलो छ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य कुनै वस्तु दिन नहुने सन्देशसमेत पात्र र घटनाक्रममार्फत स्पष्ट पारिएको थियो ।
प्रस्तुतिमा स्तनपानका क्रममा परिवारबाट आवश्यक सहयोग नपाउँदा आमाले सामना गर्नुपर्ने कठिनाइ, समाजमा रहेका स्तनपानसम्बन्धी गलत धारणा तथा शिशुलाई बजारिया दूध खुवाउने बढ्दो प्रवृत्तिलाई समेत समेटिएको थियो। यस्ता अभ्यासले शिशुको स्वास्थ्यमा पार्न सक्ने नकारात्मक प्रभावलाई स्वास्थ्यकर्मीहरूले नाटकीय घटनामार्फत चित्रण गरेका थिए ।
विशेषगरी कामकाजी आमाका लागि नियमित स्तनपानलाई निरन्तरता दिन परिवारसँगै कार्यस्थलको सहयोगी वातावरण आवश्यक हुने विषयलाई नाटकले जोड दिएको थियो । आमालाई स्तनपान गराउन अनुकूल अवस्था निर्माण गर्ने जिम्मेवारी केवल आमाको मात्र नभई परिवार, कार्यस्थल र समुदायको साझा सरोकार भएको सन्देश प्रस्तुत गरिएको थियो ।
अस्पतालका अनुसार औपचारिक भाषणबाट मात्र स्वास्थ्यसम्बन्धी जानकारी दिनुभन्दा व्यावहारिक र मनोरञ्जनात्मक माध्यम प्रयोग गर्दा सर्वसाधारणले सन्देश सहज रूपमा बुझ्न सक्ने भएकाले नाटक अभिनयलाई रोजिएको हो । कार्यक्रममा सहभागी सेवाग्राहीहरूले स्वास्थ्यकर्मीबाटै प्रस्तुत गरिएको नाटकका कारण स्तनपानको महत्व तथा शिशु हेरचाहसम्बन्धी धेरै व्यावहारिक जानकारी हासिल गर्न पाएको प्रतिक्रिया दिएका थिए ।
हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्ष पनि सप्ताहका अवसरमा सिन्धुली जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा समुदाय स्तरमा स्तनपानको महत्त्वबारे जानकारी विस्तार गर्ने उद्देश्यले विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।